ग्याल्सिङ: ग्याल्सिङ जिल्लाको आरीगाउँस्थित सञ्चमान लिम्बू सरकारी कलेजको एनएसएस (NSS) एकाइले भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालय, क्षेत्रीय एनएसएस निर्देशनालय गुवाहाटी, सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभाग र माई भारत केन्द्र ग्याल्सिङको सहकार्यमा “माई भारत एनएसएस राष्ट्रिय खेलकुद दिवस २०२६ – खेल की बात पीएम के साथ” र “खेलो इन्डिया संवाद” कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ।

हक्कीका महान् खेलाडी मेजर ध्यानचन्दको जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा सिक्किम सरकारका मुख्य शिक्षा अधिकारी (मुख्य अतिथि) राजेश थापा, कलेजका प्रिन्सिपल प्रा. डा. भक्त कुँवर, अतिथि (पञ्चायत) आई.बी. लिम्बू र माई भारतका जिल्ला युवा अधिकारी प्रदीप बैसलाको उपस्थिति रहेको थियो। कार्यक्रममा यु–१९ भारतीय फुटबल टोलीका पूर्व कप्तान बाइचुङ भुटिया, राष्ट्रिय धनुर्विद्या खेलाडी रोनक राई, सारिका सुवेदी, श्रिया तामाङ, बास्केटबल खेलाडी सोनाम जाङ्पो लेप्चा र तेक्वान्दो खेलाडी डोल्मा शेर्पा लगायत ३५० जनाको सहभागिता थियो।
कार्यक्रमको मुख्य आकर्षण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको प्रत्यक्ष भर्चुअल संवाद रहेको थियो। प्रधानमन्त्री मोदीले देशभरका युवाहरूलाई प्रेरणादायी सन्देश दिँदै राष्ट्रियस्तरको यो कार्यक्रम आयोजना गरेकोमा कलेजको एनएसएस एकाइको प्रशंसा गरे। कार्यक्रममा मुख्य अतिथि थापाले युवाहरूलाई खेलकुदमा स्पष्ट लक्ष्य राखेर अघि बढ्न प्रेरित गरे भने कलेजका प्रिन्सिपल डा. कुँवरले शिक्षा र खेलकुदलाईसँगै लैजानुपर्नेमा जोड दिए।

सो अवसरमा उदयीमान खेलाडी ‘फ्युचर स्टार्स’ र अतिथिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन र संयोजन एनएसएस कार्यक्रम अधिकारी पेमा लोदा लेप्चाले गरेका थिए भने धन्यवाद ज्ञापन डा. डिल्लीराम शर्माले गरेका थिए।










