विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट स्पष्ट बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन्। सोमबार भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको छ। सरकारलाई बहुमतका लागि ४७ मत आवश्यक थियो।
कार्कीको पक्षमा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसदले मतदान गरे। विपक्षमा नेपाली कांग्रेसका २२ सांसद रहे भने राप्रपाका चार सांसदले ‘मत दिन्न’ पक्ष रोजे। जसपाकी निर्मला लिम्बु अनुपस्थित रहिन्। कांग्रेसका २९ मध्ये सात सांसद पनि बैठकमा उपस्थित भएनन्।
विश्वासको मतअघि मुख्यमन्त्री कार्कीले एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहकार्य सत्ता टिकाउने उद्देश्यमा मात्र सीमित नभई प्रदेशको विकास, स्थायित्व र राजनीतिक स्थिरताका लागि भएको दाबी गरे।
हालैको सत्ता समीकरणबीच प्राप्त बहुमतले कार्की सरकारलाई तत्कालका लागि बलियो राजनीतिक आधार दिएको छ। यद्यपि विपक्षी दलहरूको फरक भूमिकाले प्रदेश राजनीतिमा ध्रुवीकरण कायमै रहेको संकेत गरेको छ।










