अमेरिका–क्यानडा व्यापार युद्ध: कार्नीको कठिन परीक्षा

589e57c3-9219-4740-aeaa-3a271a70fecc

वाशिंटन: अमेरिका र क्यानडाबीच दशकौँदेखि कायम आर्थिक सहकार्य अहिले गम्भीर तनावमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको अन्तिम चरणको व्यापार वार्ता तोडेर क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले तत्काल सम्झौताभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिएको सन्देश छन्। तर यो निर्णय राजनीतिक रूपमा जति साहसी देखिन्छ, आर्थिक रूपमा त्यति नै जोखिमपूर्ण छ।
क्यानडाको करिब ७० प्रतिशत निर्यात अमेरिकी बजारमा निर्भर रहेकाले अमेरिकी ट्यारिफको प्रतिकार गर्दा क्यानडेली उद्योग, उपभोक्ता र रोजगारीमा दबाब बढ्न सक्छ। अर्कोतर्फ, ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत लगातार थप सहुलियत मागिँदै जाने हो भने सम्झौता गर्दै जानु पनि क्यानडाको दीर्घकालीन आर्थिक स्वाधीनताका लागि घातक हुन सक्छ।
वार्ता भाँडिनुको मूल कारणमा अटोमोबाइल क्षेत्रसम्बन्धी अमेरिकी माग, क्यानडाका अन्य व्यापार साझेदारसँगका सम्झौतामा हस्तक्षेप तथा अमेरिकी मदिरामाथिको प्रतिबन्धजस्ता विषय देखिएका छन्। दुवै पक्षले एकअर्कालाई अन्तिम घडीमा नयाँ माग अघि सारेको आरोप लगाएका छन्।
जनमतले कडा नीति समर्थन गरिरहेको भए पनि कार्नीका लागि चुनौती अब जनभावनालाई आर्थिक यथार्थसँग सन्तुलन गर्नु हो। अमेरिकासँगको व्यापार युद्ध जित्नु मात्र पर्याप्त छैन,क्यानडाको अर्थतन्त्रलाई दीर्घकालीन रूपमा विविधीकरण गर्दै आफ्ना उद्योग र बजार सुरक्षित गर्नु नै उनको वास्तविक परीक्षा हुनेछ।

About Author

Advertisement