दार्जिलिङ: दार्जिलिङका सांसद राजू विष्टले २० अगस्टका दिन मनाइने ‘नेपाली भाषा मान्यता दिवस’ को अवसरमा सम्पूर्ण नेपाली भाषाभाषी तथा भाषाप्रेमीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यता दिलाउन लामो सङ्घर्ष गर्ने र प्राणको आहुति दिने सम्पूर्ण भाषा-सङ्ग्रामीहरूप्रति सम्मान व्यक्त गर्दै विष्टले आजको दिन उनीहरूको योगदानको स्मरण र कृतज्ञता प्रकट गर्ने विशेष अवसर भएको बताएका छन्।सामाजिक सञ्जालमा सन्देश जारी गर्दै सांसद विष्टले भारतमा नेपाली भाषा-साहित्यको अध्ययन-अध्यापनको अवसर, व्यवस्था र यसका लागि उपलब्ध सुविधाहरूको अझ व्यापक स्तरमा प्रयोग तथा उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।भाषा मान्यता दिवसको पालना गर्दै यस दिशातर्फ निरन्तर प्रयास गर्ने प्रतिज्ञा गर्न आह्वान गर्दै उनले सम्पूर्ण भाषा-योद्धाहरूप्रति शत-शत नमन व्यक्त गरेका छन्। साथै, उनले वर्तमान एवं भावी पिँढीलाई समृद्ध भाषा र साहित्यको प्रवर्द्धनमा लाग्न प्रेरणा र शुभकामना समेत दिएका छन्।










