सोनादा: सोनादा डिग्री कलेज एवं सोनादा साहित्य संस्थानको संयुक्त आयोजनामा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाली भाषा मान्यता दिवस समारोह यस वर्ष पनि विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न भएको छ।सोनादा डिग्री कलेजका प्राचार्य डा. योगेश खातीको अध्यक्षतामा सम्पन्न समारोहमा भारतीय नेपाली साहित्यकी वरिष्ठ साहित्यकार तथा लेखिका विष्णुकुमारी ठकुरी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा सोनादा क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, साहित्यकार, शिक्षाविद्, प्राध्यापक, शिक्षक–शिक्षिका तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहको प्रारम्भमा अध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई स्वागत तथा खदार्पण गरिनुका साथै दीप प्रज्ज्वलन गरिएको थियो। त्यसपछि भाषा सङ्ग्रामी तथा दिवङ्गत साहित्यकारहरूको स्मृतिमा एक मिनेट मौन प्रार्थना अर्पण गरिएको थियो। प्रारम्भमा सोनादा डिग्री कलेजका विद्यार्थीहरूले भाषा विषयक स्वागत गीत प्रस्तुत गरेका थिए। सोनादा क्षेत्रका सोनादा उच्चतर माध्यमिक विद्यालय, न्युटन्स माइन्ड पब्लिक स्कुल, ग्रिनहिल इङ्लिस स्कुल, सेन्ट पिटर्स इङ्लिस विद्यालय, शान्तिरानी उच्चतर माध्यमिक विद्यालय, गुड होप एकेडेमी तथा होली क्रस कन्या उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले कविता वाचन प्रस्तुत गरेका थिए। साथै विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा शुद्ध नेपाली हिज्जे लेखन प्रतियोगिता पनि सम्पन्न भएको थियो। प्रतियोगिताको सञ्चालन तथा निर्णायकको भूमिका पर्वत रसाइली एवं मञ्जरी गुरुङले निर्वाह गर्नुभएको थियो। शुद्ध नेपाली हिज्जे लेखन प्रतियोगिता अन्तर्गत अन्तरविद्यालय तहमा सोनादा उच्चतर माध्यमिक विद्यालयका अभिषित नेवार प्रथम, होली क्रस कन्या उच्चतर माध्यमिक विद्यालयका प्रयत्न कार्की द्वितीय तथा गुड होप एकेडेमीकी आरुसी प्रधान तृतीय भएका थिए। शुद्ध नेपाली हिज्जे लेखन प्रतियोगिताको महाविद्यालय स्तरमा सोनादा डिग्री कलेजका छात्रहरू प्रथम स्वीकृति खाती ,दोस्रो श्रेया गुरुङ, तेस्रो विवेक थापा बिजय भए।विजयी विद्यार्थीहरूलाई उपस्थित अतिथिहरूका हातबाट स्मृतिचिह्न तथा प्रमाणपत्र प्रदान गरिएको थियो।समारोहमा सोनादा साहित्य संस्थानका सदस्यहरू एम. बी. प्रधान, के. के. मुखिया तथा सीमा तामाङले आफ्ना स्वरचित कविता वाचन गरेका थिए। कविता वाचन सत्रको सञ्चालन रजत ठकुरी, श्री पर्वत रसाइली तथा बुद्ध राईले गरेका थिए। सोनादा साहित्य संस्थानका मूल सचिव तथा कवि नरेश कटुवालले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली भाषा तथा साहित्यको संरक्षण, संवर्द्धन र विकासमा साहित्यिक संस्थाहरूको भूमिकामाथि प्रकाश पारे। उनले सोनादा साहित्य संस्थान तथा सोनादा डिग्री कलेजले भाषा, साहित्य र शिक्षाको क्षेत्रमा गर्दै आएका कार्यहरूको महत्त्व सर्वसाधारणले बुझ्नुपर्ने बताउँदै यस्ता संस्थाहरूको निरन्तरता र विकासका लागि जनसहयोग आवश्यक रहेको उल्लेख गरे। साथै, स्वर्गीय अतसी भट्टाचार्यद्वारा सोनादा साहित्य संस्थानका नाममा दान गरिएको भूमिमा संस्थानको भवन निर्माण गर्न सर्वसाधारण तथा सम्बन्धित निकायबाट सहयोगको अपेक्षा व्यक्त गरे। नेपाली भाषा आन्दोलनमा सोनादा क्षेत्रबाट योगदान पुर्याउँदै आएका सुरतरङ्ग संगीत महाविद्यालयका प्राचार्य देवकुमार प्रधानलाई अङ्गवस्त्र, शिरशोभा, स्मृतिचिह्न तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। उनलाई नेपाली भाषा मान्यता आन्दोलनमा पुर्याएको योगदानका लागि सम्मान अर्पण गरिएको हो।समारोहकी प्रमुख अतिथि वरिष्ठ लेखिका विष्णु ठकुरीले नेपाली भाषा तथा साहित्यको महत्त्वबारे अत्यन्तै मिठो, सारगर्भित तथा प्रेरणादायी मन्तव्य प्रस्तुत गरेकी थिइन्। समारोहको मुख्य आकर्षणका रूपमा साहित्यकार सोनाम छिरिङले नेपाली भाषा आन्दोलनको इतिहास, संघर्ष तथा वर्तमान सन्दर्भबारे अत्यन्तै सारगर्भित वार्ता प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतितर्फ सोनादा डिग्री कलेजका विभिन्न समूहका विद्यार्थीहरूले आकर्षक लोकनृत्य प्रस्तुत गरेका थिए।
अध्यक्षीय सम्बोधनमा डा. योगेश खातीले सोनादा डिग्री कलेजको आफ्नै प्राङ्गणमा भाषा तथा साहित्यसँग सम्बन्धित यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए। उनले सोनादा डिग्री कलेजको शैक्षिक विकास तथा क्षेत्रको समग्र उन्नतिका लागि सर्वसाधारण तथा सम्बन्धित निकायको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। उद्घाटन सत्रको सञ्चालन तथा सम्मानित व्यक्तित्वहरूको परिचय साहित्यकार प्राध्यापक मेघनाथ छेत्रीले राखेका थिए। कार्यक्रममा नेपाली विभागका सहप्राध्यापक अनिल विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए। समारोहमा उपस्थित विशिष्ट अतिथिहरूमा सोनादा साहित्य संस्थानका उपाध्यक्ष जे. के. राई, रमेश बन्धुका रसिक छेत्री,नेपाली विभागकी प्राध्यापक डा. रागिनी थापा, बुद्ध सङ्गम, भीम क्षमित, अम्बर सुब्बा, अपर सोनादा पञ्चायतका ग्राम प्रधान दावा तामाङ, थिलेन लामा, सोनादा मुण्डाकोठी मण्डलकी अध्यक्ष मीना कुमारी थापा, भूपति सुब्बा, शङ्कर तामाङ, बविन्द्र राई, उद्धव खनाल, बी. के. प्रधान, मेघेन्द्रमणि थापा, डी. टी. अल्मू, डी. टी. योल्मो, दोर्जे शेर्पा तथा रामराज राईलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यसैगरी प्रभाकर समाज, बालकल्याण समूह, सद्भावना वरिष्ठ नागरिक मञ्च तथा भूतपूर्व सैनिक सङ्गठनका सभापति एवं सचिवहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न विद्यालय तथा महाविद्यालयका शिक्षक–शिक्षिका एवं प्रतिनिधिहरूको सहभागिताले समारोहलाई थप गरिमामय बनाएको थियो। कार्यक्रम सफल बनाउन सहयोग, समर्थन तथा सहभागिता जनाउने सम्पूर्ण व्यक्ति, विद्यालय, शिक्षक–शिक्षिका, विद्यार्थी, साहित्यकार, अतिथि तथा शुभेच्छुकहरूप्रति समारोह समितिका संयोजक प्रा मेघनाथ छेत्री तथा सोनादा साहित्य संस्थानका मूल सचिव नरेश कटुवालले आभार व्यक्त गरेका छन्।










