खरसाङ: खरसाङ नगरपालिकाद्वारा निर्मल बन्धु र निर्मल साथीहरुलाई पीपीई किट्स वितरण गरिएको छ। उक्त पीपीई किट्स शहरी विकास अनि नगरपालिका मामिला विभाग कोलकाताबाट प्राप्त गरेर सुरक्षाको लागि खरसाङ नगरपालिकामा कार्यरत् सफाई कर्मचारीहरु निर्मल बन्धु र निर्मल साथीहरुलाई प्रदान गरिएको जानकारी प्राप्त भएको छ। उक्त पीपीई किट्स वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा खरसाङ महकुमा शासक एंव खरसाङ नगरपालिकाकी प्रशासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाको ईओ थेण्डुप भोटिया, फाईनेन्स अफिसर नोर्देन लामा, नगरपालिकाको अन्य पदाधिकारीहरु र कर्मचारीहरु साथै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला उपाध्यक्ष आरबी लामा लगायत अन्यहरु उपस्थित रहेका थिए। प्रत्येक पीपीई किट्समा रेनकोट, हेल्मेट, एप्रोन, गल्प्स लगायत निर्मल बन्धु र निर्मल साथीहरुलाई सुरक्षित राख्ने अन्य विभिन्न सर सामानहरु रहेका थिए। यी सबै सामानहरु निर्मल बन्धु र निर्मल साथीहरुलाई कामको समयमा सुरक्षा दिने सर सामानहरु रहेको जानकारी प्राप्त भएको छ। यस अवसरमा पहिलो किस्तामा जम्मा ११८ वटा पीपीई किट्स वितरण गरिएको छ। यसको दोस्रो किस्तामा पनि प्राप्त भएपछि वितरण गरिने जानकारी प्राप्त भएको छ। यस वितरण कार्यक्रम विषयमा विधायक सोनाम लामाले आफ्नो सम्बोधनमा खरसाङ शहरको सर सफाई र नागरिकहरुको स्वच्छता विषयमा काम गर्नु पर्ने कुरामा जोड दिएका छन्। उनले फोहोर मैला प्रबन्धनलाई विशेष जोड दिन्दै यसमा सबैको उत्तरदायित्व रहेको कुरामा ध्यानाकर्षण गराएका छन्। उनले नगरपालिकाको कर्मचारीहरुको प्रशंसा पनि गरेका छन्।

कार्यक्रममा खरसाङ महकुमा शासक एंव खरसाङ नगरपालिकाकी प्रशासक आईएएस प्रिया यादवले सफाई कर्मचारीहरुका कार्य र उनीहरुको प्रयासलाई सराहना गर्दै शहरलाई सफा र स्वच्छ राख्नलाई सफाई कर्मचारीहरुकोन महत्वपूर्ण भूमिका रहने बताइन्। उनले खरसाङ शहरलाई सफा र स्वच्छ राख्नु पर्ने र नागरिकहरुको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने आह्वान् गरेकी छन्।









