खरसाङ: तामाङ संस्था, माथिल्लो सिरुबारी खरसाङको आयोजनामा हतारे गोलाईदेखि “आई लभ खरसाङ” सम्म रोहिणी रोडको छेउछाउमा वृक्ष रोपण अभियान सम्पन्न भएको छ।पर्यावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा माथिल्लो सिरुबारी क्षेत्रलाई स्वच्छ,७ सुन्दर र हराभरा बनाउने उद्देश्यले आयोजना गरिएको यस अभियानमा संस्थाका सभापति दिपेन मोक्तान, सचिव दिपन्कर गुरुङ, सह सचिव रजय थोक्कोर, कोषाध्यक्ष सुरेश घिसिङ, पूर्व सभापति डी. के. गुरुङ, पूर्व सचिव साङ्गे खण्ड शेर्पा, गुम्बा सचिव अजय गोले तथा ग्राम सुधार समितिकी कोषाध्यक्ष पुनम छेत्री लगायत संस्थाका पदाधिकारी, सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वृक्ष रोपण अभियानमा सहभागी सबैले पर्यावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै रोपिएका बिरुवाहरूको संरक्षण, नियमित हेरचाह तथा संवर्द्धनमा समेत ध्यान दिनु पर्नेमा जोड दिएका थिए। वृक्ष रोपणले केवल पर्यावरणलाई हराभरा बनाउने मात्र नभई भावी पुस्ताका लागि स्वच्छ, स्वस्थ्य र सुन्दर वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यस अभियानलाई सफल र प्रभावकारी बनाउन समाज सेवा समिति तथा ग्राम सुधार समितिले महत्वपूर्ण सहयोग र सक्रिय सहभागिता जनाएका थिए। यस सामाजिक तथा वातावरणीय अभियानमा पुर्यालको अमूल्य सहयोग, सहभागिता र योगदानका लागि तामाङ संस्था, माथिल्लो सिरुबारी दुवै समितिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

‘आज एउटा रुख रोपौँ, भोलिको भविष्य सुरक्षित बनाऔँ।” भन्ने मूल सन्देशका साथ सम्पन्न यस अभियानले स्थानीय समुदायमा वातावरण संरक्षण र हरियाली प्रवर्द्धनप्रति थप चेतना र सकारात्मक भावना विकास गर्ने अपेक्षा गरिएको छ।तामाङ संस्था, माथिल्लो सिरुबारीले आगामी दिनहरूमा पनि वातावरण संरक्षण, सरसफाइ, सामाजिक सेवा तथा सामुदायिक विकाससँग सम्बन्धित विभिन्न रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ भनी तामाङ संस्था माथिल्लो सिरुबारी, खरसाङको सचिव दिपंकर गुरुङले जानकारी दिएका छन्।










