दार्जिलिङ: दार्जिलिङका सांसद राजु विष्टले ८०औँ स्वतन्त्रता दिवसको पावन अवसरमा दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्र लगायत सम्पूर्ण देशवासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय गीत ‘वन्दे मातम्’ को १५० औँ गौरवशाली वर्षको स्मरण तथा नमन गरे। स्वतन्त्रता संग्रामका क्रममा करोडौँ भारतीयहरूमा साहस, एकता र राष्ट्रभक्तिको भावना प्रज्ज्वलित गर्ने यस अमर गीतले आज पनि राष्ट्रसेवाका लागि प्रेरणा दिइरहेको उनले बताए।
स्वतन्त्रता सेनानीहरूको त्यागदेखि आजको आत्मनिर्भर र सशक्त भारतसम्मको यात्रा १४० करोडभन्दा बढी भारतीयको संकल्प र सामूहिक सामर्थ्यको कथा भएको उल्लेख गर्दै विष्टले आजको भारत युवा शक्ति, नवप्रवर्तन र आत्मविश्वासका साथ ‘विकसित भारत’ निर्माणतर्फ तीव्र रूपमा अघि बढिरहेको धारणा राखे। उनले इतिहासको स्मरणसँगै आफ्ना कर्म र जिम्मेवारीमार्फत भारतको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउन सबैलाई आह्वान गरेका छन्।










