अङ्गदान सम्बन्धी सचेतना फैलाउन जोड
कोलकाता: विश्व अङ्गदान दिवसको अवसरमा सिके बिर्ला हस्पिटल्स (सीएमआरआई) ले रोटरी, कन्सर्न फर कलकत्ता र कोलकाता पुलिसको सहकार्यमा अङ्गदान सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक विचारविमर्श तथा प्यानल छलफल कार्यक्रमको आयोजना गरेको छ। सीएमआरआई अडिटोरियममा आयोजित उक्त कार्यक्रम “स्मृतिभन्दा बढी छाडेर जाऔँ – जीवनभन्दा परे, आफूभन्दा परे” भन्ने नाराका साथ सञ्चालन गरिएको थियो।
अङ्गदानले अन्तिम अवस्थामा पुगेका अङ्ग विफलताका बिरामीहरूलाई नयाँ जीवन प्रदान गर्न सक्छ। तर, बढ्दो सचेतनाका बाबजुद भ्रम, सूचनाको कमी र प्रक्रियाप्रतिको हिचकिचाहटका कारण अङ्गदान अझै पनि चुनौतीका रूपमा रहेको कार्यक्रममा बताइएको छ। कार्यक्रममा जनरल एडभान्स रोबोटिक सर्जरी तथा रेनल ट्रान्सप्लान्ट सर्जन डा. फोरकान बी शेख, नेफ्रोलोजिस्ट डा. सुनिल कुमार, क्रिटिकल केयर मेडिसिन प्रमुख डा. अनिर्बान चट्टोपाध्याय, न्युरोलोजिस्ट डा. दीप दास र रोटो प्रमुख प्रा. डा. अर्पिता राय चौधरी लगायतका विशेषज्ञहरूको सहभागिता रहेको थियो। छलफलको सहजीकरण डा. कौशिक दासले गरेका थिए।
छलफलमा कन्सर्न फर कलकत्ताका अध्यक्ष नारायण पी जैन र रोटरीका डिस्ट्रिक्ट गभर्नर भोट्रिन्दो मल्लिक लगायत सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो। सहभागीहरूले अङ्गदानको चिकित्सा, नैतिक र सामाजिक पक्षहरू, सम्भावित दाताहरूको समयमै पहिचान, परिवारको भूमिका र ट्रान्सप्लान्ट प्रणालीप्रति जनविश्वास बढाउने विषयमा गहन छलफल गरेका थिए। सिके बिर्ला हस्पिटल्सका जोनल हेड डा. सोमब्रत रायले अङ्गदान केवल चिकित्सकीय निर्णय मात्र नभई कसैलाई नयाँ जीवन दिने महान् अवसर भएको बताएका छन्।









