नयाँ दिल्ली: पाकिस्तानले आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाइरहँदा विश्वका दुई प्रमुख शक्ति राष्ट्रहरू रुस र अमेरिकाले बधाई सन्देश पठाउँदै इस्लामाबादसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुई देशबीचको बलियो सम्बन्धको प्रशंसा गर्दै महत्त्वपूर्ण खनिज, ऊर्जा, आतङ्कवादविरुद्धको अभियान, सांस्कृतिक सम्पदा तथा व्यापार र लगानीजस्ता रणनीतिक क्षेत्रमा साझेदारी अझ गहिरो बनाउने इच्छा व्यक्त गर्नुभएको छ। उहाँले यस सहकार्यमार्फत दुवै देशका जनताका लागि ठोस परिणाम हासिल भइरहेको उल्लेख गर्दै अमेरिकाले पाकिस्तानसँगको जनस्तरीय मित्रताको सम्मान गर्ने बताउनुभएको छ।त्यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुतिनले पनि पाकिस्तानलाई विशेष सन्देश पठाउँदै राजनीतिक, व्यापारिक, आर्थिक र मानवीय क्षेत्रमा रचनात्मक सहकार्य जारी राख्ने विश्वास दिलाउनुभएको छ। पुतिनले अन्तर्राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरता कायम राख्नका साथै दुवै देशका जनताको हितका लागि बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन रुस र पाकिस्तानले निरन्तर मिलेर काम गर्ने उल्लेख गर्नुभएको छ।









