हावडा: पूर्वी भारतमै पहिलो पटक रोबोटिक साइटोरिडक्टिभ सर्जरी (सीआरएस) र हाइपरथर्मिक इन्ट्रापेरिटोनियल किमोथेरापी (हाइपेक) को प्रयोग गरी जटिल चरणको ओभेरियन क्यान्सरको सफल उपचार गरिएको छ। हावडास्थित नारायण अस्पतालमा उपचार गराएकी ४२ वर्षीया महिलाले यो अत्याधुनिक प्रविधिबाट क्यान्सरलाई परास्त गरेकी हुन्।
परम्परागत रूपमा पेट ठूलो चिरफार गरेर गरिने जटिल शल्यक्रियाको साटो साना छिद्र (किहोल) मार्फत रोबोटिक शल्यक्रिया गरिएकाले बिरामी शल्यक्रियाको ३ दिनमै डिस्चार्ज भएकी छन्। पेटमा अत्यधिक पानी जम्ने र दुवै अण्डाशयमा ट्युमर देखिएपछि अस्पताल पुगेकी ती बिरामीमा चौथो चरण नजिक (स्टेज ३ सी) पुगेको एडभान्स ओभेरियन क्यान्सर पुष्टि भएको थियो। सुरुमा उनको क्यान्सर मार्कर सीए १२५ को स्तर १,१५८ रहेकोमा शल्यक्रिया अघि दिइएको ३ साइकल किमोथेरापीपछि सो घटेर १०.३ मा झरेको थियो।
ट्युमरको आकार ८ सेन्टिमिटरभन्दा सानो भएपछि बहुविषय विशेषज्ञ टोलीले ओपन सर्जरीको सट्टा रोबोटिक विधि रोजेका हुन्। करिब ५ घण्टा चलेको रोबोटिक शल्यक्रियामार्फत पेटभित्र देखिएका सम्पूर्ण ट्युमरहरू हटाइएको थियो। लगत्तै, नाङ्गो आँखाले नदेखिने सूक्ष्म क्यान्सर कोषहरू नष्ट गर्न ९० मिनेटसम्म ४२ डिग्री सेल्सियसमा तातो किमोथेरापी (सिस्प्लाटिन) पेटभित्र परिचालन गरियो।
अस्पतालका गाइनेकोलोजिक ओन्कोलोजी प्रमुख डा. कौस्तव बासुका अनुसार प्रारम्भिक किमोथेरापीप्रतिको राम्रो प्रतिक्रिया र बिरामीको सबल स्वास्थ्यका कारण यो जटिल उपचार रोबोटिक प्रविधिबाट सम्भव भएको हो। यसले बिरामीलाई ठूलो घाउको पीडा र लामो अस्पताल बसाइबाट जोगाएको छ। हाल फलोअप किमोथेरापी पूरा गरी बिरामी सामान्य दिनचर्या र काममा फर्किसकेकी छन्।










