कोलकाता: भारतको अन्तर्राष्ट्रिय बैंक, बैंक अफ बडोदाले कोलकाताको ईएम बाइपास (मेट्रोपोलिटन) मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यससँगै कोलकाता अञ्चलमा बैंकको कुल शाखा संख्या २६५ पुगेको छ। नयाँ शाखा विस्तारले बैंकिङ सेवामा ग्राहकको पहुँच थप सहज र सुदृढ हुने बैंकले विश्वास लिएको छ।
नयाँ शाखाले ईएम बाइपास र आसपासका सर्वसाधारण तथा व्यवसायीलाई लक्षित गर्दै व्यक्तिगत वित्तीय समाधान, डिजिटल बैंकिङ सुविधा र परामर्श सेवासहितका बृहत् बैंकिङ सेवाहरू उपलब्ध गराउनेछ। शाखाको उद्घाटन बैंक अफ बडोदाका कार्यकारी निर्देशक लाल सिंहले गरेका हुन्। उद्घाटन समारोहमा बैंकका महाप्रबन्धक एवं कोलकाता अञ्चल प्रमुख के. आर. काग्दल, उपमहाप्रबन्धकहरू राजीव कृष्ण र सञ्जय चौधरी, क्षेत्रीय प्रमुखहरू अनिल कुमार झा, प्रशान्त सिन्हा, तपन सिन्हा र सोमनाथ अग्रवाल लगायतका वरिष्ठ अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई सहयोग
व्यावसायिक विस्तारसँगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत दमदम पार्कस्थित कृष्णापुर आदर्श विद्यामन्दिर फर गर्ल्सका विपन्न छात्रालाई ५० वटा साइकल र स्कुल झोला वितरण गरेको छ। छात्राहरूको दैनिक आवतजावतलाई सहज बनाउन र विद्यालयमा नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक लाल सिंहले भने, “आजको दिन बैंकका लागि विशेष महत्त्वपूर्ण छ, किनकि हामीले कोलकातामा दुईवटा उपलब्धि हासिल गरेका छौँ। नयाँ शाखाको उद्घाटनले सुलभ र ग्राहककेन्द्रित बैंकिङ सेवालाई जनमानसको थप नजिक ल्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। साथै, शिक्षा र समान अवसरमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने हाम्रो लक्ष्यलाई विद्यालयमा गरिएको सहयोगले स्पष्ट पारेको छ।”

साइकल तथा झोला वितरण कार्यक्रममा विद्यालयकी प्रधानाध्यापिका तुहिना घोष (राय), अञ्चल प्रमुख के. आर. काग्दल लगायत बैंकका प्रतिनिधिको सहभागिता थियो। बैंक अफ बडोदाले प्रमुख विकासशील बजारहरूमा आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्नुका साथै शिक्षा, सशक्तीकरण र सामाजिक विकासका क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ।









