दार्जीलिङमा गोर्खाल्याण्ड संकल्प ऱ्यालीको आयोजना

55032088-f708-406e-98fb-b5c7af2891ff

कुनै पनि हालतमा गोर्खाल्याण्डबाहेक अन्य व्यवस्थाहरु स्वीकार गर्दैनौं: सञ्जय थुलुङ

दार्जिलिङ: दार्जीलिङमा नयाँ पार्टी निर्माण समितिको तत्वावधानमा गोर्खाल्याण्ड संकल्प ऱ्यालीको आयोजना गरिएको छ। नयाँ पार्टी निर्माण समितिको आयोजनामा दार्जिलिङ रेलवे स्टेशनबाट शुरु भएको गोर्खाल्याण्ड संकल्प ऱ्याली गोर्खा दुःख निवारक सम्मेलन भवनसम्म गएर एउटा कार्यक्रममा परिणत भएको छ। छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको माग गर्दै आज दार्जिलिङमा गोर्खाल्याण्ड संकल्प ऱ्यालीको आयोजना गरिएको हो। उक्त ऱ्यालीमा पहाडका विभिन्न क्षेत्रबाट आएका गोर्खाल्याण्ड समर्थकहरु, युवा तथा जेनजी युवाहरूको सहभागिता रहेको थियो। ऱ्यालीमा सहभागीहरूले गोर्खाहरूले चाँडै न्याय पाउनु पर्ने बताउँदै त्यसका लागि छुट्टै राज्य गोर्खाल्याण्डको निर्माण नै दीर्घकालीन समस्या समाधान भएको धारणा व्यक्त गरेका छन्। उनीहरूले गोर्खाहरूको राजनीतिक अधिकार, पहिचान र भविष्य सुनिश्चित गर्न संवैधानिक रूपमा छुट्टै राज्यको व्यवस्था हुनुपर्ने माग गरेका छन्। सभालाई सम्बोधन गर्दै विभिन्न वक्ताहरूले गोर्खाहरूको समस्याको स्थायी राजनीतिक समाधानका लागि छुट्टै राज्य गोर्खाल्याण्डबाहेक अन्य कुनै व्यवस्था पर्याप्त नहुनेमा जोड दिए। वक्ताहरूले गोर्खाल्याण्डको मागलाई सशक्त रूपमा अघि बढाउन सबै गोर्खा समुदाय एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँदै नयाँ पुस्ता तथा युवाहरूको सक्रिय सहभागिताले आन्दोलनलाई थप बल पुग्ने बताए।
कार्यक्रममा सहभागीहरूले गोर्खाल्याण्ड निर्माणको संकल्प दोहोर्याउँदै गोर्खाहरूको राजनीतिक अधिकार र संवैधानिक न्यायका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यस गोर्खाल्याण्ड संकल्प ऱ्यालीको समय पत्रकारहरुलाई सम्बोधन गर्दै नयाँ पार्टी निर्माण समितिको तर्फबाट सञ्जय थुलुङले कुनै पनि हालतमा गोर्खाल्याण्डबाहेक अन्य व्यवस्थाहरु स्वीकार गर्दैनौं भनी बताए। उनले भने, लामो संघर्ष केवल गोर्खाल्याण्डको लागि भएको हो। गोर्खाल्याण्डको आवाज बुलन्द बनाउनुपर्छ। यो गोर्खाल्याण्डको आवाज सरकारले जति नै टार्न खोजेपछि टार्न सक्दैन।’ सञ्जय थुलुङले अघि भने, २०१७ पछि कसैले पनि गोर्खाल्याण्डको लागि सडकमा आएर आवाज उठाएको थिएन। तर हामीले शुरुवात गरेका छौं। किनभने हामी दुईजना मात्र भए पनि गोर्खाल्याण्डको आवाज उठाउन चाहान्छौं र गोर्खाल्याण्डको आवाज जीवित छ भनी सरकारलाई बताउन चाहान्छौं।

About Author

Advertisement