असान: भारतीय ब्याडमिण्टन खेलाड़ी अस्मिता चलिहाले असाधारण पुनरागमन गर्दै भिक्टर कोरिया मास्टर्स सुपर ३०० टुर्नामेण्टमा महिला एकलको खिताब जितिन्। फाइनलमा अस्मिताले चीनकी हान कियान शी-लाई १४-२१, २१-१४, २१-१४-ले पराजित गरिन्। भारतीय खेलाड़ीले ५३ मिनटसम्म चलेको म्याचमा पहिलो गेम गुमाएपछि असाधारण पुनरागमन गरिन् अनि लगातार २ गेम जितेर आफ्नो करियरको पहिलो बीडब्ल्यूएफ खिताब हासिल गरिन्। फाइनलको शुरुवात अस्मिताको निम्ति असल रहेन अनि उनलाई लय हासिल गर्न संघर्ष गरिरहेको देखियो। हियानले यसको फाइदा उठाउँदै शुरुदेखि नै खेललाई नियन्त्रणमा राखिन् अनि २१-१४-ले पहिलो गेम जितिन्। एक गेमले पछाड़िएपछि अस्मिताले आफ्नो खेलमा गति र आक्रमकता बढ़ाइन्। लगातार आक्रामक शट् लगाउँदै प्रतिद्वन्द्वीमाथि दबाउ सृष्टि गर्ने अस्मिताले २१-१४-ले दोस्रो गेम जितेर म्याचलाई तेस्रो तथा निर्णायक गेमसम्म पुऱ्याइन्। निर्णायक गेमको शुरुवातमा दुई खेलाड़ीबीच रोमाञ्चक प्रतिस्पर्धा देख्न पाइयो। एक समय म्याच नजिकको हुने लागिरहेको थियो। तेस्रो गेममा १२-११-को बढ़त हासिल गरेपछि चाहिँ अस्मिताले पछि फर्किएर हेरिनन्। उनले पहिला स्कोरलाई १५-११ पुऱ्याइन् अनि पछिबाट दर्शनीय क्रस कोर्ट विनरको साथ १९-१४-को बढ़त हासिल गरिन्। त्यसपछि अस्मिताले २१-१४-ले तेस्रो गेम जितेर खिताब आफ्नो नाम गरिन्। कोरिया मास्टर्सको यो जीत अस्मिताको करियरको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो। यो उनको बीडब्ल्यूएफ वर्ल्ड टूर सुपर ३०० स्तरको पहिलो खिताब पनि हो। फाइनलमा पहिलो गेम गुमाएपछि पनि उनले संयम कायम राखिन् अनि महत्त्वपूर्ण मौकाहरूमा आक्रामक खेल देखाएर इतिहास रचिन्। दाहिने घुँड़ाको चोटले गर्दा ३ महिना खेलबाट बाहिर रहेपछि अस्मिताले मईमा प्रतिस्पर्धी ब्याडमिण्टनमा पुनरागमन गरेकी थिइन्। त्यसपछि उनले बीडब्ल्यूएफ टूरमा असाधारण प्रदर्शन गरेकी छन् अनि मकाऊ ओपनमा सेमिफाइनलसम्म पुगेकी थिइन्। विश्वकी ५०औं नम्बरकी शट्लर अस्मिताले गुवाहटी स्थित नेशनल सेण्टर अफ एक्सीलेन्समा पार्क ताए-सांगको मार्गदर्शनमा अभ्यास गर्छिन्। कोरिया मास्टर्सको जीतको साथ भारतीय खेलाड़ीहरूले लगातार दोस्रो हप्ता बीडब्ल्यूएफ वर्ल्ड टूर खिताब जितिन्। यसअघि तन्वी शर्माले गत आइतवार ताइपे ओपनको खिताब जितेकी थिइन्।











