गान्ताेक: सिक्किममा आगामी नोभेम्बर १६ देखि १८ सम्म पहिलो संस्करणको ‘सिक्किम राइडर्स मिट’ आयोजना हुने भएको छ। उत्तर सिक्किमको नामप्रिकदाङमा आयोजना हुने उक्त राइडर्स मिटबारे ‘डर्टी एञ्जल्स मोटरसाइकल क्लब’का प्रतिनिधिहरूले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेटघाट गरी जानकारी गराएका छन्।
मुख्यमन्त्रीको सरकारी निवासमा भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री गोलेले सो राइडर्स मिटको ‘प्रमुख संरक्षक’ को भूमिका स्वीकार गर्दै कार्यक्रमलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
भेटका क्रममा मुख्यमन्त्री गोलेले यस्ता राइडर्स मिटलाई वार्षिक क्यालेन्डर कार्यक्रमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले ग्रामीण क्षेत्रलाई विशेष प्राथमिकता दिँदै सिक्किमका सबै जिल्लाहरूमा पालैपालो यस्ता कार्यक्रम आयोजना गरिनुपर्ने बताएका छन्।

यस्ता पहलहरूले स्थानीय पर्यटन प्रवर्द्धन, समुदायका लागि आर्थिक अवसरको सिर्जना र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्रीको भनाइ थियो।
सो क्रममा मुख्यमन्त्रीले आयोजक डर्टी एञ्जल्स मोटरसाइकल क्लबका सदस्यहरूलाई कार्यक्रमको सफलताको शुभकामना दिँदै राज्य सरकारको तर्फबाट आवश्यक सबै सहयोग रहने आश्वासन दिएका छन्।
उक्त भेटघाट कार्यक्रममा विधायक आदित्य गोले र एरङ तेन्जिङ लेप्चाको पनि उपस्थिति रहेको थियो।











