सिलगढी: सिलगढी पुलिस कमिसनरेटअन्तर्गत माटीगाढा थानाको सादा पोसाकको टोलीले छापा मारेर ठूलो मात्रामा ब्राउन सुगरसहित एक जनालाई गिरफ्तार गरेको छ। विशेष सूचनाको आधारमा ७ अगस्ट २०२६ को साँझ दार्जिलिङ जिल्लाको माटीगाढा थाना क्षेत्रअन्तर्गत परिवहन नगरस्थित बन्टी ढाबाअगाडि तथा कोको पेट्रोल पम्पपछाडि अभियान चलाएर पुलिसले उक्त कारबाही गरेको हो।
कारबाहीका क्रममा दार्जिलिङ जिल्लाको माटीगाढा गरुहाट निवासी ३८ वर्षीय मो. बबलु उर्फ बुलेट उर्फ बुक्ला उर्फ मो. राजुलाई नियन्त्रणमा लिइएको छ। खानतलासी गर्दा उनको साथबाट २७८ ग्राम संदिग्ध ब्राउन सुगर र १ वटा एन्ड्रोइड मोबाइल फोन बरामद गरी कानुनी प्रक्रियाबमोजिम जफत गरिएको छ।
यस घटनाका सम्बन्धमा माटीगाढा थानामा नारकोटिक ड्रग्स एन्ड साइकोट्रोपिक सब्सटन्सेज (एनडीपीएस) ऐनअन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया पूरा गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।









