रेसीथाङमा ज्याभ्लिन फ्याँक्ने प्रतियोगिता आयोजना
गान्ताेक: सिक्किम एथलेटिक्स एसोसिएसन र खेलो इन्डिया स्टेट सेन्टर अफ एक्सिलेन्स (केआईएससीई) को संयुक्त तत्वावधानमा शुक्रबार रेसीथाङस्थित खेलगाउँमा पाँचौँ राष्ट्रिय ज्याभ्लिन दिवस २०२६ मनाइएको छ। यस अवसरमा स्थानीय खेलाडीहरूका लागि ज्याभ्लिन फ्याँक्ने (भाला फ्याँक्ने) प्रतियोगितासमेत आयोजना गरियो।
७ अगस्ट २०२१ मा सम्पन्न टोकियो २०२० ओलम्पिकमा भारतका ज्याभ्लिन खेलाडी नीरज चोपडाले स्वर्ण पदक जितेर ऐतिहासिक उपलब्धि हासिल गरेका थिए। एथलेटिक्समा भारतलाई पहिलो ओलम्पिक स्वर्ण दिलाउने सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष ७ अगस्टका दिन राष्ट्रिय ज्याभ्लिन दिवस मनाइँदै आएको छ। “शक्ति, शुद्धता, श्रेष्ठता” (स्ट्रेंथ, प्रिसिसफ एक्सीलेंस) भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य खेलाडीहरूलाई प्रोत्साहन गर्नु र उनीहरूको क्षमता प्रवर्द्धन गर्नु रहेको थियो।
प्रतियोगिताको पुरुष खुला तर्फ दुमार गारा ३९.६१ मिटर भाला फ्याँकेर प्रथम भए भने अभय ३१.८३ मिटरका साथ दोस्रो र हेमु छेत्री ३०.०८ मिटरका साथ तेस्रो स्थानमा रहे। यस्तै महिला खुला तर्फ रेवा बराइली २३.३३ मिटरसहित पहिलो, सबिना राई १६.३० मिटरसहित दोस्रो र अप्सरा छेत्री १४.१५ मिटर भाला फ्याँकेर तेस्रो स्थान हासिल गर्न सफल भए।
कार्यक्रममा सिक्किम एथलेटिक्स एसोसिएसनका सदस्य राजु छेत्री, गङ्तोक जिल्ला एथलेटिक्स एसोसिएसनका महासचिव हिशे तेन्जिङ भोटिया, केआईएससीई का हाइ पर्फर्मेन्स म्यानेजर प्रज्ञान बस्नेत, योङ प्रोफेशनल राहुल गुरुङ, स्पोर्ट्स न्यूट्रिसनिस्ट मुस्कान छेत्री, एथलेटिक्स प्रशिक्षक आरबी सुब्बा लगायत अन्य अधिकारी, प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।










