बिजनबारी: विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण प्रभावित बनेको दार्जिलिङ पुलबजार खण्ड अन्तर्गत गोक-२ ग्राम पञ्चायतका विभिन्न पैह्रोग्रस्त क्षेत्रहरूको दार्जिलिङ पुलबजार खण्ड पञ्चायत समिति सभापति निमन्ता तामाङले बिहीबार स्थलगत निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा सभापति तामाङसँगै गएको टोलीले पैह्रोबाट प्रभावित परिवारहरूसँग भेटघाट गर्दै उनीहरूको समस्या र क्षतिको जानकारी लिएका थिए।अविरल वर्षासँगै गएको बाढी पैह्रोका कारण नेजी क्षेत्रका स्थानीय सुकवीर लेप्चा, पेम्बा लेप्चा, निमा छिरिङ लेप्चा तथा सुवास भुजेलको घर, गोठ तथा खेतीयोग्य जमीनमा ठूलो क्षति पुगेको छ। त्यसैगरी कोम निवासी कमलकिशोर प्रधानको एक माऊ गाई गोठसहित पैह्रोमा बग्नुका साथै दुईवटा बाख्रा र ठूलो परिमाणमा खेतीयोग्य जमीन पनि पैह्रोले बगाएको छ। यस्तै गरी योगेश सुब्बाको परिवार पनि पैह्रोको चपेटामा परेको बताइएको छ। भ्रमण अवधि गोक दुई ग्राम प्रधान एन्डुप लेप्चा, विभिन्न वार्ड सदस्यहरु, पञ्चायत समिति सदस्यहरुको साथमा भाजपा मण्डल समितिका कार्यकर्ताहरु विशेष रूपमा उपस्थित रहेका थिए।










