विद्यार्थीहरू मर्कामा
मङ्पु: मङपू सर्कल अन्तर्गत पर्ने लाब्दा निम्न उच्च विद्यालयमा बर्खा याममा कक्षाकोठाभित्र पानी पस्ने समस्याले पठन पाठन प्रभावित भएको छ। लगातार पानी पस्ने समस्याका कारण विद्यार्थीहरूलाई अध्ययन गर्न निकै कठिनाइ भइरहेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका शिक्षक प्रभारी विवेक छेत्रीका अनुसार विद्यालयको तल्लो तला खेल मैदानभन्दा होँचो स्थानमा रहेकाले प्रत्येक वर्ष वर्षायाममा कक्षा कोठामा पानी पस्ने समस्या दोहोरिने गरेको छ। यसका कारण विद्यार्थीहरूको नियमित पठन पाठनमा अवरोध सिर्जना भइरहेको छ। हालमा पनि हरेक दिन जसो कक्षा कोठामा पानी पसिरहेकोले विद्यार्थीहरूलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गराउन कठिन भइरहेको उनको भनाइ छ। यस समस्याबारे विद्यालयले सम्बन्धित विभागका अधिकारीहरूका साथै रङ्ली–रङ्लियट खण्ड विकास अधिकारीलाई समेत जानकारी गराइसकेको उल्लेख गर्दै शिक्षक प्रभारी विवेक छेत्रीले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर यथाशीघ्र स्थायी समाधानका लागि आवश्यक पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।











