दोस्रो ‘आमा सम्मान दिवस’को प्रचारप्रसार व्यापक बनाउन मन्त्री सामडुप लेप्चाको निर्देशन

89fed268-f03f-437b-8130-38f483d8dde4

नामची: आगामी १० अगस्टका दिन नामछीस्थित भाइचुङ स्टेडीयममा आयोजना हुन गइरहेको दोस्रो ‘आमा सम्मान दिवस २०२६’ को तयारीका क्रममा महिला, बाल, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण मन्त्री सामडुप लेप्चाले आज नामचीस्थित जिल्ला सूचना केन्द्रको भ्रमण गरी प्रचारप्रसार व्यवस्थापनको समीक्षा गरेका छन्।
​समीक्षाका क्रममा मन्त्री लेप्चाले आम नागरिकसम्म सूचना पुर्‍याउन र व्यापक जनसहभागिता सुनिश्चित गर्न सूचना तथा जनसम्पर्क विभागलाई डिजिटल मिडियाका विभिन्न माध्यमहरू प्रयोग गरी प्रचारप्रसार तीव्र पार्न निर्देशन दिए।
​मुख्यमन्त्री पेमसिंह तामाङको परिकल्पनाअनुसार सुरु गरिएको यो वार्षिक कार्यक्रम परिवार र समाज निर्माणमा आमाहरूले पुर्‍याएको अमूल्य योगदानको उच्च कदर गर्दै उनीहरूप्रति सम्मान प्रकट गर्ने एउटा पवित्र पहल भएको मन्त्री लेप्चाले बताए। आमाको नि:स्वार्थ त्याग, ममता र समाज निर्माणमा उनीहरूको भूमिकालाई उजागर गर्दै ‘आमा सम्मान दिवस’को सन्देश राज्यका प्रत्येक घरघरसम्म पुग्नुपर्नेमा उनले जोड दिए।
​सूचना तथा जनसम्पर्क विभाग, नामचीले कार्यक्रमको सफल आयोजनाका लागि प्रभावकारी सूचना प्रवाह र प्रचारप्रसारमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
​भ्रमणका क्रममा मन्त्री लेप्चासँगै विभागकी सचिव नोर्मित लेप्चा, विशेष सचिव बन्दना राई, सह-निर्देशक टासी डी भुटिया, सहायक निर्देशक अर्जुन प्रधान, कल्याण अधिकारी श्याम एस प्रधान र जिल्ला सूचना अधिकारी दीप्ति प्रधान लगायतका अधिकारीहरूको उपस्थिति थियो।

About Author

Advertisement