पाक्योङ: पाक्योङ जिल्ला प्रशासनिक केन्द्रको सभाहलमा आज जिल्लाका विभिन्न उप-विभागका राजस्व अधिकारी, राजस्व निरीक्षक, मुख्य सर्भेयर तथा राजस्व सर्भेयरहरूका लागि ‘एग्रीस्ट्याक’ सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। अतिरिक्त जिल्लापाल (मुख्यालय) सबिन्द्र राईको अध्यक्षतामा सो तालिम आयोजना गरिएको हो।
तालिमको मुख्य उद्देश्य अधिकारीहरूलाई ‘एग्रीस्ट्याक फार्मर रजिष्ट्री’ मोबाइल एप र डिजिटल माध्यमबाट प्रमाणित किसानको विवरणलाई जग्गा अभिलेखसँग जोड्ने प्रक्रियाबारे जानकारी गराउनु रहेको थियो।
सो अवसरमा सूचना प्रविधि (आइटी) विभागका सह-निर्देशक बिक्रम राईले एग्रीस्ट्याक एउटा एकीकृत डिजिटल प्लेटफर्म भएको बताउँदै यसले किसान, जग्गा र बालीको प्रमाणीकृत विवरणलाई जोडेर सरकारी सेवा, कृषि परामर्श, अनुदान तथा अन्य सुविधाहरू पारदर्शी एवं प्रभावकारी रूपमा उपलब्ध गराउन मद्दत पुर्याउने बताए।
उनले ‘सिक्किम्स एग्रीस्ट्याक जर्नी: एडभासिङ डिजिटल एग्रिकल्चर’ विषयमा प्रस्तुतीकरण दिँदै सिक्किमको ‘डिजिटल कृषि मिसन’ अन्तर्गत किसान रजिष्ट्री, जियो-रेफरेन्स्ड गाउँका नक्सा र डिजिटल बाली सर्वेक्षण गरी तीन मुख्य आधारमा काम भइरहेको जानकारी दिए। साथै, पाक्योङ जिल्लामा हालसम्म ११ हजार ३ सय ६० जना किसानहरू फार्मर रजिष्ट्रीमा दर्ता भइसकेको उनले जानकारी गराए।
तालिममा आइटी विभागका सहायक निर्देशक हर्का लामिछानेले मोबाइल एपको प्रयोग र स्वीकृति प्रक्रियाबारे व्यवहारिक (ह्यान्ड्स-अन) अभ्यास गराएका थिए। कार्यक्रममा कृषि विभागकी उप-निर्देशक रेबेका गुरुङ, कृषि विकास अधिकारी गगन गुरुङ र आइटी विभागका सहायक निर्देशक निर्णय राईको पनि उपस्थिति थियो।









