चारवटा चियाबारीका श्रमिकहरूको सहभागितामा भारतीय मजदुर संघको शाखा समिति गठन

a3ec9d4b-f7df-443c-9441-2460beacdf02

सोनादा: चारवटा चियाबारीका श्रमिकहरूको सहभागितामा भारतीय मजदुर संघको शाखा समिति गठन गरिएको छ। पुलबजारस्थित सार्वजनिक भवनमा १६ नम्बर समष्टि (नागरी–धजिया मण्डल) अन्तर्गत मण्डल अध्यक्ष पूर्ण खातीको विशेष पहलमा चारवटा शक्ति केन्द्र प्रमुख तथा जिल्ला एसटी मोर्चा प्रमुख पेम्बा लेप्चाको विशेष उपस्थितिमा धजिया, एभन ग्रुप, मगरजुङ र पोख्रेबुङ चियाबारीका श्रमिकहरूलाई समेट्दै भारतीय मजदुर संघ (बीसीएमएस) को शाखा समिति गठन सम्पन्न भएको छ। उक्त कार्यक्रममा भारतीय मजदुर संघ (बीसीएमएस), दार्जिलिङ जिल्ला महासचिव प्रणय शेर्पा तथा जिल्ला सदस्य रञ्जीत तामाङको विशेष उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै जिल्ला महासचिव प्रणय शेर्पाले भने, भारतीय मजदुर संघ हल्ला र अनावश्यक आन्दोलनमा विश्वास गर्दैन। हाम्रो उद्देश्य श्रमिकको हक हितका लागि परिणाममुखी काम गर्नु हो। आजसम्म धेरै हल्ला भयो, तर काम कम भएकै कारण श्रमिकहरूले अपेक्षित न्याय पाउन सकेका छैनन्। अब हामी दार्जिलिङ पहाडका सम्पूर्ण चियाबारीका श्रमिकहरूको पीएफ, ग्र्याच्युटी तथा अन्य कानुनी बक्यौताहरूको विवरण सङ्कलन गरी सम्बन्धित निकाय तथा श्रम मन्त्रीसमक्ष पेश गर्नेछौं, ताकि कानुनबमोजिम आवश्यक कारबाही अघि बढाउन सकियोस्।”
उनले श्रमिकसँग सम्झौता गरेर पनि त्यसको उल्लङ्घन गर्ने कम्पनीहरूलाई अब कुनै छुट नदिइने र श्रमिकको अधिकार सुनिश्चित गर्न भारतीय मजदुर संघ कानुनी तथा लोकतान्त्रिक ढङ्गले निरन्तर संघर्षरत रहने स्पष्ट पारे। कार्यक्रममा नवगठित शाखा समितिलाई सफल कार्यकालको शुभकामना दिँदै श्रमिकहरूलाई आफ्नो हक, हित र सामाजिक सुरक्षाका लागि संगठित र एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement