तीनधारेमा विभिन्न राजनीतिक दलहरुद्वारा संयुक्त रूपमा शहीद दिवस पालन

8984a4d8-7340-4981-8759-1fa3e476e30a

शहीदको सपना गोर्खाल्याण्ड पूरा गर्न एकता आवश्यक

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) को आयोजनामा तीनधारेस्थित चिल्ड्रेन पार्कमा अवस्थित शहीद वेदीमा ४०औँ शहीद दिवस संयुक्त रूपमा श्रद्धा र सम्मानका साथ सम्पन्न गरिएको छ। कार्यक्रम जेबी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहको प्रारम्भमा मातृभूमिको मुक्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरूको सम्मानमा गोरामुमोको जे. बी. गुरुङ, गोजमुमो सुरेशचन्द्र दर्नाल, बिमल दर्जी र भारतीय जनता पार्टीको उमेश प्रधानले संयुक्त रूपमा दीप प्रज्वलन गरे। त्यसपछि अमर शहीदहरूको सम्झनामा दुई मिनट मौनधारण गरियो भने उपस्थित सबैले शहीद वेदीमा खादा तथा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै युवा मोर्चाको योगराज प्रधानले गोर्खा जाति र माटोको उन्मुक्तिका लागि शहीदहरूले दिएको अतुलनीय बलिदानलाई सधैँ स्मरण गर्नुपर्ने आवश्यकता औँल्याए। त्यसै गरी भाजपाको मण्डल सभापति उमेश प्रधानले शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै शहीद वेदीको पुनर्निर्माण गरिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे। अध्यक्षीय सम्बोधनमा जे. बी. गुरुङले तीनधारेमा संयुक्त रूपमा ४० औँ शहीद दिवस मनाइनु क्षेत्रका लागि शुभ संकेत भएको बताए। उनले शहीद कुनै व्यक्ति वा दलको सम्पत्ति नभई सम्पूर्ण गोर्खा समुदायका साझा गौरव भएको उल्लेख गर्दै शहीदको सम्मानलाई कुनै राजनीतिक सीमाभित्र बाँध्न नसकिने स्पष्ट पारे। उनले शहीदहरूको सपना गोर्खाल्याण्ड प्राप्ति रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थिति त्यसका लागि अनुकूल बनेको बताए।

केन्द्र र राज्यमा एउटै गठबन्धनको सरकार, विभिन्न पक्षबीचको सहकार्य तथा एकताको वातावरणले गोर्खाल्याण्डको मागलाई अघि बढाउने अवसर सिर्जना भएको भन्दै उनले सबै गोर्खाहरूलाई एकताबद्ध भएर शहीदहरूको सपना साकार पार्न संघर्ष जारी राख्न आह्वान गरे। साथै, यस्तो ऐतिहासिक अवसरलाई गुमाउन नहुनेमा उनले जोड दिए। समारोहमा संयुक्त नेतृत्वका प्रमोद थापा, संग्राम घताने, सुमन गुरुङ, सुरेन बम्जन, अजय विश्वकर्मा, अनिता लामा, शीला प्रधान, रेणु तामाङलगायत विभिन्न तहका नेताहरू तथा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पूर्ण गुरुङले गरेका थिए।

About Author

Advertisement