सेल्सफोर्स र विवेकानन्द हस्पिटलद्वारा डेटा, अटोमेसन र एआईमार्फत प्रभावकारी स्वास्थ्य सेवा

5444928b-8f42-41d4-bc15-ae837609b19d

कोलकाता: संसारकै अग्रणी एजेन्टिक एआई सीआरएम कम्पनी सेल्सफोर्स र पश्चिम बङ्गालको प्रतिष्ठित स्वास्थ्य सेवा प्रदायक विवेकानन्द हस्पिटल प्रा. लि. (भीएचपीएल) बीच रणनीति साझेदारीको घोषणा भएको छ। डेटा, अटोमेसन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बिरामीहरूका निम्ति थप प्रभावकारी, व्यक्तिगत र सहज स्वास्थ्य सेवा प्रदान गर्न एआई-संचालित एकीकृत डिजिटल प्लेटफर्म विकास गर्ने उद्देश्यले दुई संस्थाबीच यो साझेदारी भएको हो।
​बदलिँदो समयसँगै बिरामीका अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्न पहिलो परामर्शदेखि दीर्घकालीन उपचारसम्मका हरेक प्रक्रियालाई प्रविधिसँग जोड्न आवश्यक भइसकेको छ। भीएचपीएलले बिरामी र चिकित्सकको विवरण, फिल्ड अपरेसन्स, बाह्य पहुँच (आउटरिच) तथा एआई क्षमतालाई एकीकृत गर्दै एउटा बलियो डिजिटल आधार तयार पारिरहेको छ। यसबाट स्वास्थ्य सेवालाई थप समयबद्ध र गुणस्तरीय बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
​‘एजेन्टफोर्स ३६०’ प्लेटफर्ममा निर्मित र अस्पतालको इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (एचआईएमएस) सँग जोडिएको यो प्रविधिले पूर्ववत् रूपमा अलग-अलग रहेका डेटा र कार्यप्रणालीलाई एउटै थलोमा ल्याएको छ। यसमा समावेश ‘पेसन्ट ३६०’, ‘डाक्टर ३६०’, ‘बिट प्लानिङ’ र ‘क्याम्पेन म्यानेजमेन्ट’ जस्ता प्रणालीले टोलीहरूलाई बिरामी र चिकित्सकसम्बन्धी वास्तविक समय (रियल-टाइम) को सूचना उपलब्ध गराउनेछ। यसबाट फिल्डमा खटिने टोलीले बाह्य कार्यक्रमहरूको प्रभावकारी योजना बनाउन र परामर्श प्रक्रियालाई थप फलदायी बनाउन सक्नेछन्।
​त्यस्तै, स्वचालित कार्यप्रणाली (अटोमेटेड वर्कफ्लो) ले बिरामीका जिज्ञासा दर्ता गर्ने, सम्बन्धित टोलीसम्म पुऱ्याउने, निगरानी गर्ने र निरन्तर संवाद कायम राख्न सहयोग पुऱ्याउँछ। डिजिटल ड्यासबोर्डमार्फत प्राप्त हुने तथ्याङ्कले संस्थालाई सही र प्रभावकारी निर्णय लिन सहज बनाउनेछ।
​साझेदारीले भीएचपीएलको समुदायस्तरमा जोडिने शैलीलाई समेत आधुनिक बनाएको छ। क्यूआर-कोडमा आधारित अभियानमार्फत बाह्य कार्यक्रमहरूका क्रममा आउने बिरामीका जिज्ञासालाई तत्कालै प्रणालीमा प्रविष्ट गरी सम्बन्धित चिकित्सक वा टोलीसम्म पुऱ्याउन सकिनेछ। गत जनवरीमा आयोजना गरिएको भीएचपीएलको ‘मेगा हेल्थ कार्निभल’ का क्रममा यही डिजिटल प्रणालीको प्रयोग गरी तीन दिनभित्र ६०० भन्दा बढी बिरामीका जिज्ञासा दर्ता र व्यवस्थापन गरिएको थियो।
​साझेदारीबारे बोल्दै दक्षिण एसियाका लागि सेल्सफोर्सकी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुन्धती भट्टाचार्यले भनिन्, “स्वास्थ्य क्षेत्र अहिले ठूलो रूपान्तरणको मोडमा छ, जहाँ एआईले बिरामीसँगको सम्बन्ध, स्वास्थ्यकर्मीको क्षमता वृद्धि र उपचारको नतिजा सुधार्न अभूतपूर्व अवसर सिर्जना गरेको छ। भरपर्दो डेटा, एआई र मानव विशेषज्ञतालाई जोडेर नै आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुनेछ।”
​विवेकानन्द हस्पिटल प्रा. लि. की निर्देशक सौमीली दत्ताले उत्कृष्ट स्वास्थ्य सेवाको सुरुवात हरेक बिरामीलाई नजिकबाट बुझ्नुबाट हुने बताइन्। “सेल्सफोर्सको एआई-सक्षम प्लेटफर्म अपनाएर हामीले बिरामी, चिकित्सक र प्रशासनिक कार्यप्रणालीलाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेका छौँ। यसले हाम्रो डिजिटल रूपान्तरणको यात्रामा महत्त्वपूर्ण इटा थपेको छ,” उनले भनिन्।
​अस्पतालका अर्का निर्देशक सुमोनजीत दत्ताले एकीकृत प्रणालीले टोलीलाई बिरामीको सम्पूर्ण जानकारी एकै ठाउँमा उपलब्ध गराउन र सेवा प्रवाहलाई थप चुस्त बनाउन मद्दत पुऱ्याएको बताए।
​आगामी दिनमा भीएचपीएलले एआई र एजेन्टिक क्षमताको दायरालाई अझ फराकिलो बनाउने योजना बनाएको छ। बिरामी र उनीहरूका परिवारलाई २४ सै घण्टा समय (अपोइन्टमेन्ट) लिन सहयोग गर्ने तथा प्रारम्भिक लक्षणका आधारमा सही विशेषज्ञकहाँ परामर्शका लागि मार्गदर्शन गर्ने स्मार्ट एआई एजेन्टहरूको विकास गर्ने दिशामा समेत काम भइरहेको अस्पतालले जनाएको छ।

About Author

Advertisement