दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ र महासचिव रोशन गिरिले पश्चिम बंगालका पञ्चायती मन्त्री दिलिप घोषसँग शिष्टाचार भेट गर्दै दार्जिलिङ पहाडका विभिन्न पञ्चायती विषयमा विस्तृत छलफल गरेका छन्। भेटका क्रममा दार्जिलिङ पहाडमा लगणग २० वर्षपछि सम्पन्न भएको पञ्चायत चुनावको विषयमा जानकारी गराउँदै नवनिर्वाचित पञ्चायत प्रतिनिधिहरूलाई प्रभावकारी रूपमा काम गर्न आवश्यक अधिकार प्रदान गर्नुपर्नेमा जोड दिइयो।
मोर्चाका नेताहरूले विगतमा पञ्चायत प्रधानहरूबाट खोसिएका अधिकार र क्षमताको पूर्ण बहाली गर्नुपर्ने माग राख्दै स्थानीय स्वशासनलाई थप सशक्त बनाउन आग्रह गरे। साथै प्राकृतिक आपदा तथा आपतकालीन अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि प्रत्येक पञ्चायतभित्र आपदा व्यवस्थापन विभाग अलग रूपमा गठन गर्नु पर्ने बताए।
मन्त्री दिलिप घोषसँगको भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ। मोर्चाले पञ्चायत प्रणालीलाई जनमुखी, सक्षम र उत्तरदायी बनाउन राज्य सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरेको छ।









