सिलगढी: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ, पार्टीका उपाध्यक्ष एन.बी. छेत्री, पूर्व विधायक एवं गोरामुमो केन्द्रीय समिति सदस्य निरज जिम्बा लगायतको प्रतिनिधि मण्डलले पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग उत्तरकन्यास्थित मुख्यमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेको छ। उक्त भेटमा क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरू, विशेष गरी दार्जीलिङ पहाडको स्थायी राजनीतिक समाधान लगायतका जनसरोकारका मुद्दामाथि विस्तृत छलफल भएको जनाइएको छ।छलफलका क्रममा मुख्यमन्त्री अधिकारीले सकारात्मक तथा समाधानमुखी धारणा व्यक्त गरेको भन्दै प्रतिनिधिमण्डलले आशा व्यक्त गरेको छ। यस महत्वपूर्ण भेटघाटको वातावरण निर्माण तथा सहजीकरणका लागि दार्जिलिङका सांसद राजु विष्टप्रति प्रतिनिधिमण्डलले हार्दिक आभार व्यक्त गरेको छ।
भेटपछि प्रतिनिधिमण्डलले दार्जीलिङ पहाडका जनताको हक, अधिकार र समृद्धिका लागि निरन्तर समर्पित भएर काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै जनताको हितका मुद्दालाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ।











