खरसाङ: महानदी तीनधारे समष्टीको सिविटारस्थित शारदा प्राथमिक पाठशाला २६१ बुथमा भारतीय जनता पार्टीको समर्थन कार्यक्रमको आयोजना गरिएको छ। सिविटारका मिलन तामाङ र मुकुन तामाङको पहलमा उक्त समर्थन कार्यक्रमको आयोजना भएको थियो। यस कार्यक्रममा महानदी तीनधारे मण्डलको सभापति उमेश प्रधान, मण्डलका सचिव दीपराज माझी, दार्जिलिङ जिल्ला मिडिया एंव तीनधारे महानदी मण्डलको प्रभारी प्रभारी चन्दन प्रसाद, मण्डलको उप सभापति सुरेन बम्जन, मण्डलको कन्भेनर योगेन्द्र छेत्री, महिला मोर्चा मण्डलका अध्यक्ष सुनिता खाती आदिको उपस्थिति रहेको थियो। यस समर्थन कार्यक्रममा सिविटारको २६१ बुथको ६ वटा गाउँका जम्मा ४० परिवारले भारतीय प्रजातान्त्रिक मोर्चा पार्टी छोडेर भारतीय जनता पार्टीमा औपचारिक रूपमा सामेल भएका छन्। यस समर्थन कार्यक्रममा महानदी ग्राम पञ्चायतका पञ्चायत प्रधान सोनिका तामाङ र उप प्रधान राजीव तामाङ पनि उपस्थित रहेका थिए। भाजपामा गएका नव प्रवेशीहरूलाई पार्टीका कार्यकर्ताहरूले स्वागत गर्दै आगामी दिनमा जनसेवा र क्षेत्रीय विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले पश्चिम बंगालमा सरकार परिवर्तनपछि मानिसहरू खुलेर भाजपालाई सघाउने निर्णय गरेको बताएका छन्। यस समर्थनले महानदी तीनधारे क्षेत्रमा पार्टीको संगठन अझ बलियो हुनुका साथै विकासमुखी गतिविधिलाई पनि गति मिल्ने विश्वास उनले व्यक्त गरेका छन्।










