अनित थापाको जातिको मुद्दा फत्ते गर्न अन्तिम अनि निर्णायक संघर्ष सुरु गर्ने घोषणा

IMG-20260727-WA0086

मैले धेरै संघर्ष गरे, अब मैले गर्ने संघर्ष जातिको निम्ति अन्तिम अनि निर्णायक संघर्ष हुनेछ: अनित थापा

खरसाङ: खरसाङ शहीद दिवस आयोजक समितिद्वारा आयोजित शहीद दिवसको कार्यक्रममा बोल्दै प्रमुख अतिथिको सम्बोधनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाले भने, “मैले धेरै संघर्ष गरे। अब मैले गर्ने संघर्ष जातिको निम्ति अन्तिम अनि निर्णायक संघर्ष हुनेछ।” कार्यक्रम खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा आयोजना गरिएको थियो। थापाले आफ्नो सम्बोधनमा शहीदहरूलाई सम्झना गर्दै भने, “शहीदहरूको सपनालाई हामी साकार बनाउनेछौँ। राजनैतिक पार्टीको आफ्नो आफ्नो विचारधारा हुन्छ। तर शहीदको लक्ष्य एउटै हुन्छ। शहीदको सपना अनि लक्ष्य एउटै हुन्छ।”
अबको समय लक्ष्यमा पुग्ने धेरै सम्भावनाहरूले भरिएको समय हो। यही सम्भावनामाथि हामीले काम गर्नुपर्छ भन्दै थापाले भने, “सबैले गोर्खाको लक्ष्य प्राप्त गर्नका निम्ति योगदान दिएर आएका छन्। सबैले लडेको छ। हिजोको दिन हामीले संघर्ष गर्दा दिने पक्ष तयार थिएन। अहिले यस लक्ष्य प्राप्त गर्न सबै कुरा मिलेको छ। अब हामी माग्ने पक्षकोहरू पनि मिलेको हुनुपर्छ। अब पनि माग्ने पक्षकोहरू मिलेन भने अर्को वर्षको शहीद दिवस पनि समस्या बोकेर नै मनाउनुपर्नेछ। हामीले हिजो पनि सङ्घर्ष गरेका थियौँ। आज पनि गर्नेछौं।”

थापाले नयाँ सङ्घर्षको घोषणा गर्दै भने, “अबको समय अन्तिम अनि निर्णायक लडाईँको समय हो। तर देख्दैछु यस निर्णायक क्षणमा हाम्रो जाति झुक्रिएर बसेको छ। नपाउने बेलामा जोशिएर लड्यौँ तर पाउने बेलामा हामी किन झुक्क्रिएर बसेका छौं? सबैको मनमा थियो कि गोर्खाल्याण्डको निम्ति बाधा जीटीए हो भनेर तर मैले त्यो जीटीएको बाधा पनि त्यागिदिए। “
त्यसैले थापाले फेरि भने, “अबको सङ्घर्ष गोर्खाल्याण्डको निम्ति हुनेछ। यो सङ्घर्ष मेरो अन्तिम सङ्घर्ष हुनेछ।”
अन्तिम अनि निर्णायक सङ्घर्षको रूपरेखा बताउँदै थापाले अझ भने, “पर्खाई धेरै लामो भयो। यतिबेला हामी एकजुट हुनुपर्छ भन्ने कुरामा म काम गरिरहेको छु। अब उसो म प्रत्येक समष्टिको भ्रमणमा निस्कनेछु। बीजीपीएम पार्टीका कार्यकर्ताहरूले पर्खेर बसिरहेका छन्। अब म हरेक समष्टिमा गएर उनीहरुलाई फेरि जागरुक गराउने काम गर्नेछु। जसरी बीजीपीएमका कार्यकर्ताहरूलाई लड्ने योद्धा बनाएको थिए। त्यसरी नै अब गोरखल्याण्डको सङ्घर्षको निम्ति योद्धा तयार गर्नेछु।”
उनले सबैलाई आह्वान् गर्दै भने, “यो सङ्घर्ष जातिको निम्ति अन्तिम संघर्ष हुनेछ। नेतृत्वहरूलाई पनि म आह्वान् गर्छु तपाईहरु यस सङ्घर्षको निम्ति तयार रहनुहोस्। दिन्छु भन्नेहरू तयार छन् तर माग्नेहरू झुक्रेर बसेका छन्। त्यसैले यस अन्तिम अनि निर्णायक संघर्षको निम्ति म समष्टि समष्टि पुग्नेछु। मैले धेरै संघर्ष गरे। अब मैले गर्ने संघर्ष जातिको निम्ति अन्तिम अनि निर्णायक संघर्ष हुनेछ।”

About Author

Advertisement