परम्परागत खुटी पूजा सम्पन्न
कोलकाता: उत्तर र मध्य कोलकाताको सबैभन्दा प्रतिष्ठित दुर्गा पूजा व्यवस्थपक मध्येको एक ‘मोहम्मद अली पार्क युथ एसोसिएसन’ले बुधबार परम्परागत खुटी पूजा सम्पन्न गर्दै आफ्नो ५८औँ दुर्गा पूजा समारोहको औपचारिक सुरुआत गरेको छ।
एमजी रोड मेट्रो स्टेशन नजिकै रहेको मोहम्मद अली पार्क दुर्गा पूजा मैदानमा आयोजित एक विशेष समारोहका बिच खुटी पूजा सम्पन्न भएको हो। उक्त अवसरमा कमिटीका पदाधिकारी तथा विशिष्ट अतिथिहरूले आगामी पूजालाई भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि देवी दुर्गाको पूजा-अर्चना गर्दै आशीर्वाद लिएका थिए।
कार्यक्रममा पश्चिम बंगाल सरकारका वाणिज्य तथा उद्योग मन्त्री एवं मोहम्मद अली पार्क युथ एसोसिएसनका अध्यक्ष तापस रोय, विधायक विजय ओझा, काउन्सिलर मिनादेवी पुरोहित, भाजपा उत्तर कोलकाताका जिल्ला अध्यक्ष तमघ्न घोष तथा मोहम्मद अली पार्क युथ एसोसिएसनका उपाध्यक्ष एवं सामाजिक अभियन्ता बिनय दुबेको उपस्थिति रहेको थियो।
यसैगरी, भाजपा नेताहरू दिनेश पाण्डे, नविन मिश्र, भोलाप्रसाद सोनकर, रवि तिवारीलगायत अन्य धेरै गण्यमान्य व्यक्तिहरू तथा युथ एसोसिएसनका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
खुटी पूजासँगै सहरमा ढाकको धुन गुञ्जिन थालेको छ भने चाडपर्वको आगमनको आभास दिलाएको छ। मोहम्मद अली पार्कमा आयोजित खुटी पूजामा भक्ति, एकता र समर्पणको अद्भुत संगम देखिन्थ्यो। बितेका करिब छ दशकदेखि यस कमिटीले आफ्ना पृथक तथा आकर्षक ‘थिम’, कलात्मक उत्कृष्टता, सुरक्षा व्यवस्था र सामाजिक सद्भावका माध्यमबाट निरन्तर नयाँ पहिचान बनाउँदै आएको छ।
कार्यक्रमका क्रममा मिडियासँग कुराकानी गर्दै मोहम्मद अली पार्क युथ एसोसिएसनका महासचिव सुरेन्द्रकुमार शर्माले भने, “हामी ५८औँ वर्षको यात्रा शुभ खुटी पूजाबाट सुरु गर्न पाउँदा निकै गर्वान्वित छौँ। हरेक वर्षझैँ यस वर्ष पनि भक्तजनहरूलाई एक अविस्मरणीय पूजाको अनुभव गराउन र हाम्रा समृद्ध परम्पराहरूलाई जोगाइराख्न हामी प्रतिबद्ध छौँ।”
उनले अगाडि थपे, “नयाँ सरकारको आगमन र हाम्रो परिवारको निरन्तर विस्तारसँगै, केएमसीले पार्कमुनि रहेको वाटर रिजर्भ्वायरको मर्मत सम्भारको काम चाँडै पूरा गर्नेछ भन्नेमा हामी विश्वस्त छौँ। पार्कको स्थिति सुधार भएसँगै हामी पुनः आफ्नै ऐतिहासिक पुरानो ठाउँमा दुर्गा पूजा आयोजन गर्न सक्नेछौँ। त्यो ठाउँ हाम्रो विरासतको अभिन्न अङ्ग हो, र हामी सबैलाई पुनः सोही स्थानमा स्वागत गर्न आतुर छौँ।”
सन् १९६९ मा स्थापना भएको मोहम्मद अली पार्क युथ एसोसिएसन उत्तर र मध्य कोलकाताको सबैभन्दा चर्चित दुर्गा पूजा कमिटीहरूमध्ये एक हो। आफ्ना भव्य र कलात्मक पण्डालहरू तथा सामाजिक सन्देशमूलक थिमका कारण यस पूजाले धेरै पुरस्कारहरू जितिसकेको छ। सहरकै सबैभन्दा धेरै दर्शकमार्फत अवलोकन गरिने दुर्गा पूजामध्ये एक हुनुका साथै यो कमिटी वर्षभरि नै विभिन्न सामाजिक तथा सामुदायिक कल्याणकारी कार्यहरूमा पनि सक्रिय रहँदै आएको छ।










