खरसाङ: पर्यावरणको सुरक्षा अनि संरक्षण र सम्वर्धन गर्ने साथै यस विषय जनसाधारणलाई सचेत एवम् जागरुक तुल्याउने महत उद्देश्य लिएर आयोजित भइरहेको अरण्य सप्ताह अन्तर्गत समारोहगत् वृक्षरोपण साथै विभित्र प्रजातिका विरुवाहरु बितरण कार्यक्रम आज चिम्नी देवराली ग्राम पञ्चायत अन्तर्गत तीन माइल बस्ती क्षेत्रमा भव्यरुपमा सम्पन्न भयो।
वन विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सोशियल फरेष्टी, खरसाङ रेञ्ज साथै वन संरक्षण समिति, सोशियल फरेष्टी,तीन माइल अनि वन संरक्षण समिति वन विभाग खरसाङ डिभिजनको संयुक्त तत्वावधानमाआयोजित यस कार्यक्रममा वन संरक्षण समिति, खरसाङ डिभिजनका सभापति करुणा शेर्पा अनि तीन माइलका ममता विश्वकर्मा अनि सदस्यहरु साथै स्थानीय जनसाधारण र विभागीय कर्मचारीहरुको ब्यापक सहभागिता रहेकोे थियोे।

वन विभाग, सोशियल फरेष्टी, खरसाङ रेञ्जका रेञ्ज अफिसर लक्ष्मन राईको अध्यक्षता साथै अगुवाईमा सम्पन्न यस कार्यक्रममा विभिन्न प्रजातिका विरुवा रोपण साथै वितरण गरियो।
यस अवसरमा रेञ्ज अफिसर लछुमन राईले कार्यक्रम आयोजनको औचित्य र महत्त्वमाथि विस्तृतरूपमा प्रकाश पार्दै वन संरक्षण गर्न सबै लागिपर्न आव्हान गरे।











