टोक्यो: दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले आइतवार असाधारण प्रदर्शन गर्दै जापान ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा महिला एकलको खिताब जितिन्। फाइनलमा सिन्धूले शुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै स्थानीय खेलाड़ी अकाने यामागुचीलाई सीधा गेममा पराजित गरिन्। जापान ओपनको खिताब जित्ने पहिलो भारतीय खेलाड़ी बन्ने ३१ वर्षीय सिन्धूले लगातार आक्रमणको साथ-साथ रणनीतिक अनुशासन र महत्त्वपूर्ण क्षणहरूमा संयम कायम राख्दै ३ पल्टकी वर्ल्ड च्याम्पियन यामागुचीलाई २१-१७, २१-१७-ले पराजित गरिन्। यो सिन्धूको २ सालभन्दा अधिक समयपछि पहिलो खिताब हो। सिन्धूले यसअघि आफ्नो अन्तिम ट्रफी २०२४-मा सैयद मोदी इण्टरनेशनल टुर्नामेण्टमा जितेकी थिइन्। जापान ओपनको यो जीत २०१९-मा वर्ल्ड च्याम्पियनशीपको खिताब जितेपछि उनको सबैभन्दा ठूलो खिताब हो। यामागुची छैटौंपल्ट जापान ओपनको फाइनल खेलिरहेकी थिइन् जबकि सिन्धूले गत ४ सालमा एकपल्ट पनि कुनै पूर्ण म्याचमा जापानकी खेलाड़ीलाई पराजित गरेकी थिइनन्। यस सालको शुरुवातमा मलेशिया ओपनमा यामागुची म्याचको अवधि चोटले गर्दा हट्न वाध्य हुँदा सिन्धूले जीत दर्ता गरेकी थिइन्। सिन्धूले कुनै पूर्ण म्याचमा यामागुचीविरुद्ध यसअघि अन्तिमपल्ट २०२२-मा थाईल्याण्ड ओपनमा जीत हासिल गरेकी थिइन्। गत केही सालमा नतीजा आफ्नो पक्षमा नरहे पनि सिन्धूले आइतवार फाइनलमा शुरुदेखि नै वर्चस्व कायम गरिन्। उनले खेललाई असाधारण तरिकाले नियन्त्रित गरिन् अनि केवल ताकतको बद्ली रणनीतिक खेल देखाइन्। यामागुचीले पुनरागमनको प्रयास गर्दा सिन्धूले प्रत्येकपल्ट कड़ा जवाफ दिइन्। म्याचमा शक्तिशाली स्म्याशहरूको साथमा सिन्धूको नेटमा सटीक खेल पनि निर्णायक साबित भयो। सिन्धूले बारम्बार शटललाई नेटको नजिक राखिन्, जसले यामागुची शटरलाई माथि उठाउन वाध्य भइन्। यसले गर्दा सिन्धूले आफ्नो मनपर्ने क्रस कोर्ट र बडी स्म्याश लगाउने मौका पाइन्।
फाइनलको पहिलो गेममा सिन्धूले शुरुमै ३-०-को बढ़त हासिल गरे पनि यामागुचीले चाँड़ै स्कोर ३-३ गरिन्। त्यसपछि सिन्धूले नेटमा असाधारण खेलको साथ ९-६-को बढ़त हासिल गरे पनि भारतीय शट्लरको गल्तीले गर्दा ब्रेकसम्म यामागुची ११-९-ले अघि रहेकी थिइन्। ब्रेकपछि सिन्धूले ३६ शट्सको ऱ्याली जितेर स्कोर ११-११-को बराबरीमा पुऱ्याइन्। त्यसपछि सिन्धूले चाँड़ै बढ़त हासिल गरेर त्यसलाई पहिलो गेमको अन्तसम्म कायम राखिन्। अन्तमा यामागुचीको शट् नेटमा अल्झिँदा सिन्धूलाई ३ म्याच पोइण्ट हासिल भयो अनि भारतीय खेलाड़ीले कुनामा सटीक शट् खेलेर पहिलो गेम २१-१७-ले जितिन्। सिन्धूले दोस्रो गेममा पनि फर्मलाई कायम राखिन् अनि एक समय ८-३-को बढ़तमा रहेकी थिइन्। त्यसपछि यामागुचीले पुनरागमन गर्ने प्रयास गरे पनि सिन्धूले असाधारण खेल देखाउँदै पहिला १७-१४ अनि पछिबाट १९-१७-को बढ़त हासिल गरिन्। जापानकी खेलाड़ीको एउटा रिटर्न शट् बाहिर जाँदा सिन्धूलाई ३ च्याम्पियनशीप पोइण्ट हासिल भयो। त्यसपछि यामागुचीले रिटर्न शट् बाहिर हिर्काउँदा सिन्धूले दोस्रो गेमसहित म्याच जितिन्।










