विश्वकप फाइनलका लागि गान्तोकको एमजी मार्गमा ‘फ्यान पार्क’

FB_IMG_1784393485736

रेस्टुरेन्टहरू बिहान साढे ३ बजेसम्म खुल्ने

गान्तोक: ​सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले फिफा विश्वकपको फाइनल खेललाई उत्सवका रूपमा मनाउन गान्तोकको प्रसिद्ध एमजी मार्गमा ‘चीफ मिनिस्टर्स फ्यान पार्क’ स्थापना गरिने घोषणा गरेका छन्। स्पेन र अर्जेन्टिनाबीच हुने ऐतिहासिक फाइनल भिडन्तलाई प्रत्यक्ष प्रसारण देखाउन त्यहाँ एउटा विशाल (जायन्ट) एलईडी स्क्रिन जडान गरिने भएको छ।
​फुटबल खेल केवल एक खेल मात्र नभएर मानिसहरूलाई जोड्ने माध्यम भएको उल्लेख गर्दै मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमार्फत सिक्किमको फुटबलप्रतिको अगाध प्रेम र यहाँका प्रतिभाशाली खेलाडीहरूले राज्यको नाम रोशन गरेको स्मरण गरे। उनले सिक्किमेली जनता, विशेष गरी युवाहरूलाई विश्वकपको फाइनल सुरक्षित र उल्लासपूर्ण वातावरणमा हेर्ने व्यवस्था मिलाइएको बताए।
​खेलप्रेमीहरूको सुविधाका लागि मुख्यमन्त्री गोलेले आगामी २० जुलाई २०२६ (साउन ५ गते) को बिहान ३:३० बजेसम्म एमजी मार्गका रेस्टुरेन्ट, बेकरी र खाजाघरहरू खुला राख्न अनुमति दिन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। यद्यपि, यो छुट प्रचलित कानुन, सुरक्षा मापदण्ड र सार्वजनिक शान्ति व्यवस्थाको पालना गर्ने सर्तमा मात्र लागु हुनेछ।
​कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गराउनका लागि सुरक्षा, ट्राफिक व्यवस्थापन तथा भिड नियन्त्रणका लागि पुलिस विभाग र सम्बन्धित अधिकारीहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
​मुख्यमन्त्री गोलेले यस वैश्विक खेल उत्सवलाई आपसी सद्भाव, उत्साह र नागरिक जिम्मेवारीका साथ मनाउन सम्पूर्ण सिक्किमेली जनतालाई आह्वान गरेका छन्।

About Author

Advertisement