रेस्टुरेन्टहरू बिहान साढे ३ बजेसम्म खुल्ने
गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले फिफा विश्वकपको फाइनल खेललाई उत्सवका रूपमा मनाउन गान्तोकको प्रसिद्ध एमजी मार्गमा ‘चीफ मिनिस्टर्स फ्यान पार्क’ स्थापना गरिने घोषणा गरेका छन्। स्पेन र अर्जेन्टिनाबीच हुने ऐतिहासिक फाइनल भिडन्तलाई प्रत्यक्ष प्रसारण देखाउन त्यहाँ एउटा विशाल (जायन्ट) एलईडी स्क्रिन जडान गरिने भएको छ।
फुटबल खेल केवल एक खेल मात्र नभएर मानिसहरूलाई जोड्ने माध्यम भएको उल्लेख गर्दै मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमार्फत सिक्किमको फुटबलप्रतिको अगाध प्रेम र यहाँका प्रतिभाशाली खेलाडीहरूले राज्यको नाम रोशन गरेको स्मरण गरे। उनले सिक्किमेली जनता, विशेष गरी युवाहरूलाई विश्वकपको फाइनल सुरक्षित र उल्लासपूर्ण वातावरणमा हेर्ने व्यवस्था मिलाइएको बताए।
खेलप्रेमीहरूको सुविधाका लागि मुख्यमन्त्री गोलेले आगामी २० जुलाई २०२६ (साउन ५ गते) को बिहान ३:३० बजेसम्म एमजी मार्गका रेस्टुरेन्ट, बेकरी र खाजाघरहरू खुला राख्न अनुमति दिन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। यद्यपि, यो छुट प्रचलित कानुन, सुरक्षा मापदण्ड र सार्वजनिक शान्ति व्यवस्थाको पालना गर्ने सर्तमा मात्र लागु हुनेछ।
कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गराउनका लागि सुरक्षा, ट्राफिक व्यवस्थापन तथा भिड नियन्त्रणका लागि पुलिस विभाग र सम्बन्धित अधिकारीहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
मुख्यमन्त्री गोलेले यस वैश्विक खेल उत्सवलाई आपसी सद्भाव, उत्साह र नागरिक जिम्मेवारीका साथ मनाउन सम्पूर्ण सिक्किमेली जनतालाई आह्वान गरेका छन्।










