गेजिङ: बालबालिकाको प्रारम्भिक पठन र लेखन क्षमता सुधार्ने उद्देश्यका साथ गेजिङ जिल्लाका १० वटा विद्यालयमा दुई दिने ‘कुजु फोनिक्स’ क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। जिल्ला शिक्षा तथा प्रशिक्षण संस्थान (डाइट) गेजिङमा साउन १ र २ गते (जुलाई १६-१७) उक्त तालिम आयोजना गरिएको हो।
’डाइट’ गान्तोकद्वारा परिकल्पना गरिएको र पछि गेजिङ तथा नाम्ची डाइटले पनि अपनाएको यस अभियानले प्राथमिक कक्षाहरूमा व्यवस्थित ध्वन्यात्मक (फोनिक्स) शिक्षण विधिमार्फत आधारभूत साक्षरतालाई सुदृढ पार्ने लक्ष्य राखेको छ। सिक्किम सरकारको शिक्षा विभागका प्रधान सचिव डा. सन्दीप ताम्बेले डाइटहरूको यस संयुक्त प्रयासको प्रशंसा गर्दै पूर्ण समर्थन जनाएका छन्।
तालिममा जिल्लाका सरकारी विद्यालयहरू—टिकजुक, ओमचुङ, लिदुङ, चिन्थाङ, साग्बारी, पिएम श्री कन्या मावि (क्याङसा), पिएम श्री मावि (पेलिङ), टिकजेक, तल्लो साङ्खु र साङ्खु प्राथमिक विद्यालयका गरी २० जना शिक्षकहरूको सहभागिता थियो ।
राष्ट्रिय पाठ्यक्रम रूपरेखा (एनसीएफ-एफएस) अनुसार आयोजित उक्त तालिममा सहजकर्ताहरूले वातावरण ध्वनि, अनुप्रास, वर्ण पहिचान, स्वर वर्ण र व्यञ्जन वर्णको उच्चारण लगायतका विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए। शिक्षकहरूलाई कक्षाकोठामा व्यवस्थित रूपमा लागू गर्नका लागि मासिक योजनाकार र मूल्याङ्कन पाना समेत उपलब्ध गराइएको छ।










