‘माई भारत’ अभियानबारे सचेतना बैठक: स्वयंसेवा र सीप विकासमा जोड

0fb0828a-1a6c-4341-b14d-5e2f84908ac5

पाकिम: भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा मामिला विभागको पहलमा सञ्चालित ‘मेरो युवा भारत’ अभियानसम्बन्धी एक सचेतना बैठक शुक्रबार पाकिममा सम्पन्न भएको छ। जिल्लाधीश परी बिश्नोईको उपस्थितिमा डीडीएमए नियन्त्रण हलमा बैठक आयोजना गरिएको हो।
​बैठकमा मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा, अतिरिक्त जिल्लाधीश पुलकित, महकुमा अधिकारी (एसडीएम) हरू, सूचना प्रविधि विभागका ओएसडी बम छिरिङ योञ्जन, मुख्यमन्त्रीका कन्सल्टेन्ट असिस्टेन्ट (सीए) उर्गेन लेप्चा, शिक्षा विभागका मुख्य कार्यकारी अधिकारी (सीईओ) लगायत विभिन्न विभागका अधिकारीहरूको सहभागिता थियो। जिल्लाका युवाहरूको सहभागिता बढाउने रणनीति तय गर्न बैठक डाकिएको हो।
​बैठकमा युवा मामिला तथा खेलकुद मन्त्रालयका उपनिर्देशक शमशेर सुवेदारले कार्यपत्र प्रस्तुत गर्दै ‘माई भारत’ एक प्रविधिमा आधारित संस्थागत संयन्त्र भएको बताए। यस अभियानले युवाहरूलाई स्वयंसेवा, प्रयोगात्मक सिकाई, नेतृत्व र सीप विकासका अवसरहरूसँग जोड्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको उनले जानकारी दिए। उनले यस पोर्टलमा उपलब्ध मेन्टरसिप, इन्टर्नसिप, सीभी निर्माण र राष्ट्रियस्तरका गतिविधिबारे पनि प्रष्ट पारेका थिए।
​सो अवसरमा बोल्दै जिल्लाधीश बिश्नोईले ‘माई भारत’ अभियान युवाहरूका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने र सिकाईका लागि महत्वपूर्ण अवसर भएको बताइन् । उनले युवाहरूलाई यस प्लेटफर्मबाट अधिकतम लाभ दिलाउन सबै विभाग र सरोकारवालाहरूलाई सचेतना फैलाउन र सहयोग गर्न आग्रह गरिन्।

About Author

Advertisement