गान्तोक: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले ‘सिक्किम इन्स्पायर्स’ कार्यक्रम अन्तर्गत स्थानीय उत्पादकहरूका लागि डिजिटल बजारको पहुँच बढाउन एक विशेष कार्यशाला आयोजना गरेको छ। फ्लिपकार्ट समर्थ र समर्थ कृषिको सहकार्यमा शुक्रबार गान्तोकस्थित उद्योग भवनको सभाहलमा ‘फ्लिपकार्ट समर्थमार्फत डिजिटल बजार सञ्जाल’ सम्बन्धी कार्यशाला सम्पन्न भएको हो। कार्यशालामा वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी. युत्सो, विशेष सचिव एवं निर्देशक चोदेन ग्यात्सो, हस्तकला तथा हातेबुना निर्देशनालयका निर्देशक छिरिङ तोप्गे भोटिया लगायत विभागका अधिकारीहरू र प्राविधिक सहयोग एजेन्सीका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यशालालाई सम्बोधन गर्दै वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी. युत्सोले राज्यका उद्यमी र उत्पादक समूहहरूका लागि बजारको अवसर विस्तार गर्न डिजिटल वाणिज्यको महत्त्व बढ्दै गएको बताउनुभयो। उहाँले सिक्किमका उद्यमीहरूलाई फ्लिपकार्टको माध्यमबाट राष्ट्रिय ई-कमर्स बजारमा पहुँच पुर्याउन यो कार्यशाला कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। यो पहल ‘मेड इन सिक्किम’ उत्पादनहरूको प्रचार-प्रसार र डिजिटल बजार प्रवर्द्धन गर्ने सरकारी प्रयासकै एक हिस्सा भएको बताउँदै उहाँले सहभागीहरूलाई प्राविधिक सत्रहरूमा सक्रिय रूपमा सहभागी हुन र यस प्लेटफर्मको अधिकतम फाइदा उठाउन आग्रह गर्नुभयो।
कार्यक्रममा फ्लिपकार्टका फ्रेस क्याटगोरी प्रमुख एवं निर्देशक साल्हाट खानले प्रविधिमा आधारित कृषि आपूर्ति श्रृंखलाको महत्त्वबारे प्रकाश पार्दै किसान उत्पादक संगठनहरूसँगको सहकार्यले बिचौलिया बिना सिधै राष्ट्रिय बजारमा पहुँच पुग्ने बताउनुभयो।
यस्तै, समर्थका पूर्व क्षेत्र प्रमुख सौरभ सेन गुप्ताले फ्लिपकार्ट बजारको रूपरेखा प्रस्तुत गर्दै मोबाइल फोनबाटै न्यूनतम कागजातका साथ बिक्रेता दर्ता गर्न सकिने र यसबाट राष्ट्रिय ग्राहक आधार, द्रुत भुक्तानी र विक्रेता सुरक्षा जस्ता सुविधाहरू पाइने जानकारी दिनुभयो। कार्यशालामा महिला उद्यमी, लघु, घरेलु तथा साना उद्योग, स्वयं सहायता समूह, कृषक उत्पादक संगठन र बाँस तथा बेत हस्तकला उद्यमीहरूको ठूलो संख्यामा सहभागिता थियो।









