लैनसिंह बाङ्देल स्मृति पुरस्कार दार्जिलिङका चर्चित कवि केवलचन्द्र लामालाई प्रदान गरिने

4aeb8176-4e71-40eb-a58c-133737481f41

खरसाङ: लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान, कलकत्ताले सधैँ झैँ यस वर्ष पनि भाषा मान्यता दिवस, भव्य रूपमा पालन गर्ने भएको छ।
यस अवसरमा प्रतिष्ठानले भाषा, साहित्य, समाज अनि कलाको क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने गुणीजनलाई पुरस्कृत र सम्मानित गर्नेगर्दछ।अहिलेसम्म प्रतिष्ठानले पाँचजना सर्जकहरूलाई लैनसिंह बाङ्देल स्मृति पुरस्कारले पुरस्कृत गरिसकेको छ, जसमा वरिष्ठ साहित्यकारहरू राजनारायण प्रधान, झमक घिमिरे अनि समशेर अली साथै प्रसिद्ध चित्रकार हेमु राई, र अमीर सुन्दास रहेका छन्। प्रतिष्ठानले यसबाहेक दर्जनौँ सर्जकहरूलाई सम्मानित गरिसकेको छ, जसमा नाट्यभूषण सी.के. श्रेष्ठ, भाषाविद् गोकुल सिन्हा, वरिष्ठ कवि डा. राजेन्द्र भण्डारी, साहित्यकार राधेश्याम लेकाली, समाजसेवी एवं पत्रकार चन्द्र भण्डारी, समाजसेवी शान्ति राई टिस्टा, रङ्गु सौरिया आदि हुन्। प्रतिष्ठानको सभाले पुरस्कार गुठीद्वारा प्रस्तावित यस वर्षको निम्ति पुरस्कृत र सम्मानित गरिने नामहरूमाथि छलफल गरी कार्यकारी समितिले अनुमोदन गरेका नामहरूमा दार्जीलिङ निवासी, कवि/गीतकार/चित्रकार केवलचन्द्र लामालाई; छैटौँ लैनसिंह बाङ्देल स्मृति पुरस्कार प्रदान गरिने छ। पुरस्कारमा नगद राशि, शिर शोभा, अङ्गवस्त्र, स्मृति चिन्ह र अभिनन्दन पत्र प्रदान गरिन्छ। भाषा आन्दोलनका योद्धा, वरिष्ठ साहित्यकार, समाजसेवी आसाम निवासी पुष्पधर शर्मालाई मातृभाषा सेवाश्री सम्मान’; वरिष्ठ साहित्यकार एवं नेपाली विभाग प्रमुख डा. दिवाकर प्रधानलाईप्रभात साहित्य सेवा सम्मान’ र प्रसिद्ध धाविका एवं समाजसेवी रोशनी राईलाई वीर खड़गबहादुर विष्ट स्मृति सम्मान’ -ले सम्मानित गरिनेछ। कार्यक्रममा चित्रकला प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय हुनेलाई नगद राशि, स्मृति चिन्ह र प्रमाण पत्र प्रदान गरिनेछ। यसबाहेक उच्च विद्यालय स्तरका विद्यार्थीहरूमाझ चित्रकला प्रतियोगिता राखिएको छ। साथै माध्यमिक अनि उच्च माध्यमिकमा उच्च अङ्क ल्याउने विद्यार्थीहरूलाई पनि सम्मानित गरिनेछ। यसै कार्यक्रममा लैनसिंह बाङ्देलद्वारा कलकत्ताबाट प्रकाशितप्रभात’ साहित्यिक पत्रिकाको कौस्तुभ अङ्कको पनि विमोचन गरिनेछ।
कार्यक्रम आगामी २३ अगस्त आइतबारको दिन, कलकत्ताको भारतीय भाषा परिषद् भवन, ३६ए शेक्सापियर
सरणी कलकत्तामा सम्पन्न हुने भएको छ। प्रतिष्ठानकी सभापति देविका मोक्तानको सभापतित्वमा बसेको सभामा प्रा. डा. किरण सुब्बा, मिरिक कलेज, खड़ग गुरूङ, सङ्गीता शेर्पा, सञ्जीव गुरूङ, सन्तोषचन्द्र दर्नाल, दीपेन्द्र दर्नाल, प्रा. अशेष लिम्बू, वेदान्त तामाङ, निकेश लिम्बू, निमा निष्कर्ष, अरुण राई, अजय थापा आदिको उपस्थिति रहेको थियो। सभाको सञ्चालन विकास कार्कीले गरेका थिए।

About Author

Advertisement