बालबालिकाको सिकाइ सुधारका लागि पाक्योङमा ‘सिकाइ प्रवर्द्धन कार्यक्रम’ सुरु

FB_IMG_1784225535030

गान्तोक: सिक्किम सरकारको शिक्षा विभाग अन्तर्गत पाक्योङ जिल्ला शिक्षा कार्यालयको आयोजनामा ‘लर्निङ इन्रिचमेन्ट प्रोग्राम’ (LEP – सिकाइ प्रवर्द्धन कार्यक्रम) कार्यान्वयन सम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाक्योङ, रेनोक र नाम्चेबोङ ब्लकका पाइलट विद्यालयका प्रधानाध्यापक तथा शैक्षिक प्रमुखहरूका लागि बुधबार अहोपुल किशन सरकारी माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
​आधारभूत सिकाइमा देखिएका कमीकमजोरीलाई सुधार्न र विद्यालयको नेतृत्वलाई बलियो बनाउँदै कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।
​अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एवं समग्र शिक्षा (पाठ्यपुस्तक तथा भाषा) का निर्देशक ए.डी. क्षेत्रीले सफल कार्यान्वयनका लागि विद्यालयका शैक्षिक प्रमुखहरूले बलियो र जिम्मेवार नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले शिक्षकहरूलाई उचित मार्गदर्शन गर्न, कक्षाकोठाका गतिविधिहरूको निरन्तर अनुगमन गर्न र प्रत्येक बालबालिकाको चौतर्फी विकासका लागि प्रतिबद्ध भएर लाग्न आग्रह गरे।
​कार्यक्रममा स्वागत मन्तव्य राख्दै पाक्योङका मुख्य शिक्षा अधिकारी नारायण मिश्रले विद्यार्थीहरूको सिकाइ स्तरमा सुधार ल्याउन सामूहिक र निरन्तर प्रयासको आवश्यकता औंल्याए।
​अनलाइन माध्यमबाट आफ्नो कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ परामर्शदाता स्मिता अग्रवालले प्रारम्भिक मूल्याङ्कन (वेसलाइन एसेसमेन्ट) गर्दा विद्यार्थीहरूमा अंग्रेजी पढाइ र गणित विषयमा ठूलो कमजोरी देखिएको खुलासा गरिन्। उनले भनिन्, “बालबालिकालाई उपयुक्त वातावरण र अवसर दिने हो भने उनीहरूले सिक्न सक्छन् भन्ने मान्यताका साथ यो कार्यक्रम ल्याइएको हो। यस अन्तर्गत दैनिक योजनाबद्ध सिकाइ सत्र, साप्ताहिक पाठ योजना, निरन्तर मेन्टरिङ र अन्तिम मूल्याङ्कन (इन्डलाइन एसेसमेन्ट) मार्फत विद्यार्थीको प्रगतिको लेखाजोखा गरिनेछ।”
​त्यस्तै, पाक्योङ जिल्ला शिक्षा कार्यालयकी उपनिर्देशक गीता शर्माले कार्यक्रम सञ्चालनका निर्देशिका, विभिन्न तहका अधिकारीहरूको जिम्मेवारी र अनुगमन संयन्त्रबारे जानकारी गराइन्। जिल्ला शिक्षा कार्यालयका संयोजक कृष्णप्रसाद दावारीले जिल्लाको शैक्षिक सूचकहरू प्रस्तुत गर्दै तीनवटा पाइलट ब्लकका ५५ वटा विद्यालयमा गरिएको सर्वेक्षणका आधारमा सिकाइको अन्तर मेट्न यो कार्यक्रम समयसापेक्ष हस्तक्षेप भएको दाबी गरे।
​अन्तर्क्रियात्मक सत्र र नाम्चेबोङ बीएसीका संयुक्त निर्देशक एन.बी. सुब्बाको धन्यवाद ज्ञापनसँगै समापन भएको उक्त कार्यक्रममा रङलीका अतिरिक्त निर्देशक कुमार प्रधान, पाक्योङ जिल्ला शिक्षा कार्यालयकी संयुक्त निर्देशक सोनम डोमा भोटिया, रङ्पोका संयुक्त निर्देशक के.के. शर्मा लगायत विभिन्न ब्लकका नोडल अधिकारीहरू, सहायक निर्देशकहरू र शैक्षिक सरोकारवालाहरूको उपस्थिति थियो।

About Author

Advertisement