राजनीतिक दलहरूसँग निर्वाचन पर्यवेक्षकद्वारा छलफल
पायोङ: सिक्किमको ग्रामीण विकास विभागका सचिव एवं विशेष सघन संशोधन (एसआईआर) का लागि नियुक्त मतदाता नामावली पर्यवेक्षक अनिलराज राईको अध्यक्षतामा बिहीबार एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। पाक्योङ जिल्ला प्रशासनिक केन्द्रको सभाहलमा आयोजित उक्त बैठकमा जिल्ला निर्वाचन अधिकारी एवं जिल्लाधीश परी बिश्नोईको समेत उपस्थिति थियो।
प्रेस विज्ञप्ति अनुसार, बैठक विशेष सघन संशोधन अन्तर्गत दाबी तथा आपत्ति प्रक्रियाका विषयमा छलफल गर्न र त्रुटिरहित एवं समावेशी मतदाता नामावली सुनिश्चित गर्न राजनीतिक दलहरूको सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको हो।
बैठकलाई सम्बोधन गर्दै जिल्ला निर्वाचन अधिकारी बिश्नोईले योग्य मतदाताहरू जसको नाम मस्यौदा (ड्राफ्ट) नामावलीमा समावेश भएको छैन, उनीहरूलाई आवश्यक विवरणसहित ‘फारम ६’ भर्न आग्रह गरिन्। उनले जिल्लामा रहेका अनम्याप गरिएका (दर्ता नखुलेका) मामिलाहरूको अवस्थाबारे जानकारी दिँदै सम्बन्धित बुथ लेभल अधिकारी मार्फत सुनुवाइको सूचना पठाइसकिएको स्पष्ट पारिन्। राजनीतिक दलका प्रतिनिधिहरूलाई आफ्ना क्षेत्रका मतदाताहरूलाई आवश्यक कागजातसहित तोकिएको सुनुवाइमा उपस्थित हुन प्रोत्साहित गर्न समेत उनले अनुरोध गरिन्।
”मतदाता नामावलीमा नाम समावेश गर्ने वा हटाउने जस्ता सम्पूर्ण निर्णयहरू उचित प्रमाणीकरण र सप्रमाण आदेशका आधारमा मात्र गरिनेछ,” उनले भनिन्, “यदि कसैलाई सुनुवाइको निर्णयप्रति चित्त नबुझेमा तोकिएको प्रक्रिया अनुसार जिल्ला निर्वाचन अधिकारी वा मुख्य निर्वाचन अधिकारी समक्ष पुनरावेदन (अपिल) गर्ने व्यवस्था समेत रहेको छ।” १८ वर्ष उमेर पुगेर पनि नाम दर्ता नगराएका नागरिकहरूलाई तत्काल नाम दर्ता गराउन उनले आह्वान गरिन्।
छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरूले राखेका विभिन्न जिज्ञासा र प्रश्नहरूको जिल्ला निर्वाचन अधिकारी तथा निर्वाचन दर्ता अधिकारीहरूले स्पष्टीकरण दिएका थिए।
यसैगरी, मतदाता नामावली पर्यवेक्षक अनिलराज राईले यो विशेष संशोधन अभियानमा कोही पनि योग्य मतदाता नछुटुन् भन्नका लागि सबै सरोकारवालाहरूले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।
जिल्ला निर्वाचन कार्यालयले विशेष सघन संशोधनसँग सम्बन्धित कुनै पनि सहयोग वा जानकारीका लागि हेल्पलाइन नम्बर ०३५९२-२०००२४ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। बैठकमा जिल्लाका निर्वाचन दर्ता अधिकारीहरू र निर्वाचन विभागका कर्मचारीहरूको उपस्थिति थियो।









