इटानगर: अरुणाचल प्रदेशमा हालै आएको प्राकृतिक विपत्ति (बाढी तथा पहिरो) बाट प्रभावित परिवारहरूको सहयोगका लागि देवघरस्थित सत्संग आश्रमले १ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ।
आश्रमका प्रतिनिधिमण्डलले अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुलाई भेटेर उक्त रकम बराबरको चेक मुख्यमन्त्री राहत कोष (सीआरएमएफ) का लागि हस्तान्तरण गरेका हुन्।
सहयोग रकम बुझ्दै मुख्यमन्त्री खाण्डुले विपद्को घडीमा आहत भएका परिवारहरूलाई राहत पुर्याउन सत्संग आश्रमले देखाएको यो उदारताप्रति आफ्नो हृदयदेखि आभार प्रकट गरे।
श्री शिवानन्द प्रसाद जीको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा सत्संगका सदस्यहरूले श्री श्री ठाकुरजीको कालजयी आदर्श र शिक्षाहरूका बारेमा चर्चा गरेका थिए। साथै, उनीहरूले समृद्ध परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणका लागि आश्रमले पुर्याउँदै आएको निरन्तर योगदानबारे समेत जानकारी गराए।
मुख्यमन्त्री खाण्डुले सामाजिक कल्याण र मानवीय सेवाप्रति सत्संग आश्रम परिवारले देखाउँदै आएको अद्भूत प्रतिबद्धताको उच्च प्रशंसा गरेका छन्।










