खरसाङ: हामी सामान्य नागरिकले परिवर्तनको पक्षमा मतदान किन गरेका थियौँ भन्ने कुराको परिणाम विस्तारै देखिन थालेको छ भनी भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले बताएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, हिजो मात्रै राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले जीटीएसहित पश्चिम बङ्गालभरि संस्थागत भ्रष्टाचारको छानबिन गर्न न्यायिक आयोग गठन गर्ने ऐतिहासिक निर्णय गरेका छन्। आज फेरि प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत दार्जिलिङ लोकसभा क्षेत्रमा निर्माण भएका सडकहरूको राष्ट्रिय गुणस्तर परीक्षणले अर्को ठूलो भ्रष्टाचारको वास्तविकता उजागर गरेको छ। १३० वटा सडकको निरीक्षण गर्दा ८८ वटा असन्तोषजनक, ८ वटामा सुधार आवश्यक
केवल ३४ वटा मात्र सन्तोषजनक रहेको छ।’
उनले प्रेस विज्ञप्तिमा भने, ‘प्रतिवेदनमा असन्तोषजनक पाइएका केही सडकहरूमा सोनादा मुण्डा खोटे पायुन गाउँ, बडा हट्टा, छोटा हट्टा, दार्जिलिङ सिङ्गला बजार, माझिटार रोड गिङ रोड,
गोलाई – सरस्वती हाई स्कूल
रंगबुल तुङसुङ, सम्थार देउराली सुरुक, सिङ्गला रोड रानीबान (लिम्बु बस्ती हुँदै),
बिजनबारी डाङ्गिया (रेलिङ हुँदै), भञ्ज्याङ – बसबोटे (लिङ्सेबुङ हुँदै), चिम्नी – खुन्द्रुके (मजुवा हुँदै) आदि रहेका छन्। यी त केवल केही उदाहरण मात्र हुन्। प्रतिवेदनमा दार्जिलिङ, खरसाङ, मिरिक, जोरबुङ्लो-सुखे पोखरी तथा कालेबुङका दर्जनौँ सडकहरूमा गम्भीर गुणस्तर कमजोरी देखाइएको छ।’
चन्दन प्रसादले अघि भने, ‘जनताको करबाट बनेका सडकहरू गुणस्तरहीन हुनु केवल निर्माणको कमजोरी होइन, यो जनविश्वासमाथिको ठूलो धोका हो। वर्षौँदेखि विकासका नाममा जनताको पैसाको दुरुपयोग भएको स्पष्ट देखिएको छ।’
उनले अझ भने, ‘यस गम्भीर विषयलाई राष्ट्रिय स्तरमा उठाई गुणस्तर परीक्षण गराउन पहल गर्नुहुने हाम्रो सांसद राजु विष्टप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्दै न्यायिक आयोग गठन गर्ने ऐतिहासिक निर्णय लिने मुख्यमन्त्री सुभेन्दु अधिकारीप्रति पनि हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु।’
उनले भने, भ्रष्टाचारमुक्त, पारदर्शी र जनउत्तरदायी शासन नै समृद्ध पश्चिम बङ्गालको आधार हो। परिवर्तन एकै दिनमा आउँदैन, तर सही दिशातर्फको यात्रा सुरु भइसकेको छ।’









