मुख्यमन्त्री सङ्गमाद्वारा विभागको प्रगति समीक्षा
सिलांग: मेघालयका मुख्यमन्त्री कनराड के सङ्गमाले भेटेरिनरी (पशु सेवा) विभागको प्रगति समीक्षा गर्दै कृषकहरूको जीविकोपार्जन र पशुधनको उत्पादकत्व वृद्धिमा जोड दिएका छन्। पशु स्वास्थ्य सबलीकरण, उत्पादकत्व र किसानको आयआर्जन सुधार गर्ने लक्ष्यका साथ विभागले गरिरहेका कामहरूको उनले विस्तृत समीक्षा गरेका हुन्।
समीक्षा बैठकमा विभागले सन् २०२५ सेप्टेम्बरदेखि अनलाइनमार्फत ‘पशु स्वास्थ्य प्रमाणपत्र’ (ऑनलाइन लाइवस्टॉक हेल्थ सर्टिफिकेटe) वितरण सफलतापूर्वक सुरु गरिसकेको जानकारी दिइयो। यसका साथै पशुहरूमा लाग्ने रोग नियन्त्रणका लागि प्रतिकारात्मक खोप तथा उपचारका कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ। सरकारी फार्महरूको कार्यसम्पादन सुधार तथा बंगुर र कुखुरा पालनका लागि ल्याइएको विशेष पशुधन उत्पादन कार्यक्रम (स्पेशल लाइभस्टक प्रोडक्शन प्रोग्राम) लाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।
बैठकले किर्देमकुलाई मा ‘कलेज अफ भेटेरिनरी साइन्स’ स्थापना गर्ने, केन्द्र सरकारका योजनाहरू मार्फत पूर्वाधार स्तरोन्नति गर्ने र री भोई तथा वेस्ट गारो हिल्समा पशु जाँचचौकी (एनिमल चेक पोस्ट) निर्माण गर्ने महत्त्वपूर्ण विषयमा छलफल गरेको छ।
यसैगरी, राष्ट्रिय पशुधन मिसन (ईनएलएम) अन्तर्गत किर्देमकुलाईमा भेडा र बाख्राका लागि ‘क्षेत्रीय वीर्य उत्पादन प्रयोगशाला तथा वीर्य बैंक’ स्थापना, विभागीय फार्महरूको स्तरोन्नति र राष्ट्रिय गोकुल मिसन (आरजीएम) अन्तर्गत री भोईको २२ मेर नारङमा पशु आश्रयस्थल निर्माण सम्पन्न भइसकेको समीक्षामा उल्लेख गरिएको छ।











