ढाका: बंगलादेशको तारिक रहमान सरकारले पूर्वप्रधानमन्त्री शेख हसिना र उनीसँग आवद्ध व्यावसायिक समूहमाथि ठूलो कानुनी कारबाही गरेको छ। हसिनाले यसै वर्षको अन्त्यसम्ममा स्वदेश फर्कने घोषणा गरेको केही दिनभित्रै सरकारले उनी र उनको परिवारसँग जोडिएको ७६० अर्ब टका (करीब ६.२ अर्ब डलर) बराबरको सम्पत्ति जफत (सीज) गरेको हो।
बंगलादेश फाइनान्सियल इन्टेलिजेन्स युनिटका अनुसार जफत गरिएको कुल सम्पत्तिमध्ये ५७० अर्ब टका देशभित्रको हो भने १९० अर्ब टका बराबरको सम्पत्ति विदेशमा सीज गरिएको छ। एजेन्सीका प्रमुख इख्तियार मोहम्मद मामूनले विदेशमा पठाइएको पैसा फिर्ता ल्याउने प्रयास भइरहेको र यस वर्षको अन्त्यसम्ममा सकारात्मक नतिजा आउने अपेक्षा गरिएको बताएका छन्।
यसै वर्षको फेब्रुअरीमा भएको आम निर्वाचनपछि सत्तामा आएको तारिक रहमानको सरकारले शेख हसिनामाथि आफ्नो १५ वर्षे कार्यकालमा पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको, भ्रष्टाचार गरेको र आफ्ना आफन्त तथा निकट व्यावसायिक समूहलाई गैरकानूनी रूपमा फाइदा पुऱ्याएको आरोप लगाएको छ। अर्कोतर्फ, बंगलादेश सरकारले हसिनाको स्वदेश फिर्ता हुने बयानको स्वागत गर्दै उनलाई अदालतमा न्यायको सामना गर्न चुनौती दिएको छ।
स्मरणरहोस्, सन् २०२४ को अगस्टमा विद्यार्थी आन्दोलन र हिंसात्मक प्रदर्शनपछि शेख हसिनाको सरकार ढलेको थियो र उनी भागेर भारत शरण लिन पुगेकी थिइन्। त्यसपछि मोहम्मद युनुसको नेतृत्वमा गठित अन्तरिम सरकारको पालामा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) मा उनीविरुद्ध मुद्दा चलाइयो, जहाँ उनलाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ। अन्तरिम सरकारले उनको दल अवामी लिगमाथि प्रतिबन्ध समेत लगाएको थियो। हालै एक अन्तर्वार्तामा हसिनाले आफू बंगलादेश फर्केर आत्मसमर्पण गर्ने र आफू तथा आफ्नो पार्टीमाथि लागेका आरोपहरू राजनीतिक रूपमा प्रेरित र झूटा भएको भन्दै त्यसको सामना गर्ने बताएकी थिइन्।










