पहिलो दिन सोम्बारीया विद्यालयको दोहोरो र सानदार जित
सोरेङ: सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभाग, सोरेङ जिल्लाको आयोजनामा ६५औँ प्रि-सुब्रतो कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता (जिल्ला स्तरीय) बुधबारदेखि च्याखुङ खेलमैदानमा सुरु भएको छ। सोरेङ जिल्ला खेलकुद विभागका सहायक निर्देशक डी. बी. सुब्बा र विभागका कर्मचारीहरूको प्रत्यक्ष रेखदेख तथा समन्वयमा सुरु भएको यस प्रतिष्ठित प्रतियोगिताको पहिलो दिन दुवै उमेर समूहमा निकै उत्साहजनक र रोमाञ्चक खेलहरू प्रदर्शन भएका छन्।
उद्घाटन दिनको पहिलो खेल अन्तर्गत १७ वर्षमुनिको छात्र (अन्डर-१७ ब्वाइज) समूहमा डन बस्को स्कुल माल्बासे र सरकारी ज्येष्ठ माध्यमिक विद्यालय (जीएसएसएस) सोम्बारीयाबीच कडा प्रतिस्पर्धा भएको थियो। जसमा जीएसएसएस सोम्बारीयाले खेलमा पूर्ण नियन्त्रण राख्दै डन बस्को स्कुलमाथि ७–१ को फराकिलो गोल अन्तरले सानदार जित दर्ता गर्यो। सोम्बारीयाका खेलाडीहरूको उत्कृष्ट तालमेल र उत्कृष्ट आक्रमणका अगाडि डन बस्कोका रक्षापंक्ति निरिह बनेका थिए।
यसैगरी, १५ वर्षमुनिको छात्र (अन्डर-१५ ब्वाइज) समूहमा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा पनि जीएसएसएस सोम्बारीयाले नै आफ्नो जितको लयलाई निरन्तरता दियो। सोम्बारीयाले सरकारी माध्यमिक विद्यालय (जीएसएस) तिम्बुरबोङलाई ४–० को सहज गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोहोरो जित दर्ता गर्न सफल भयो। यस जितसँगै सोम्बारीया दुवै उमेर समूहमा बलियो दावेदारका रूपमा प्रस्तुत भएको छ।
जिल्लाका युवा खेलाडीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ व्यवस्थित ढंगले सञ्चालन भइरहेको यस प्रतियोगिताको समापनसम्म थप रोमाञ्चक खेलहरू हुने आयोजकले अपेक्षा गरेको छ। खेलकुद तथा युवा मामिला विभागले प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीहरूलाई सफलताको शुभकामना दिँदै मैदानभित्र र बाहिर खेल भावना, आपसी भ्रातृत्व, उच्च अनुशासन र निष्पक्षताको प्रदर्शन गर्न सबै खेलाडीहरूलाई आह्वान गरेको छ।










