सिलिगढी: महानन्दा वन्यजन्तु अभयारण्य र यसको वरपरको पर्यावरण संवेदनशील क्षेत्र इको-सेन्सेटिभ जोन (ईएसजेड) का विषयमा छलफल गर्न आज सिलिगढीमा एक उच्च स्तरीय बैठक सम्पन्न भएको छ।
वन तथा पर्यावरण विभागका मन्त्री मनोजकुमार ओरावँको अध्यक्षतामा आयोजित उक्त महत्त्वपूर्ण बैठकमा दार्जीलिङका लोकसभा सांसद राजु विष्ट लगायत क्षेत्रका जनप्रतिनिधि एवं विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। बैठकमा पर्यावरण संरक्षण र दिगो आर्थिक प्रगति दुवैलाई सँगसँगै अगाडि बढाउने सन्तुलित दृष्टिकोणका साथ ईएसजेडको सीमा पुनरावलोकन गर्ने विषयमा गहन विचार-विमर्श भएको छ।
बैठकपछि सञ्चारमाध्यमलाई जानकारी दिँदै सांसद राजु विष्टले स्थानीय जनता र पर्यावरणको हितलाई मध्यनजर गर्दै पर्यावरण संवेदनशील क्षेत्रको पुनरावलोकन कार्यलाई तीव्र गतिमा अगाडि बढाइनेमा आफू पूर्ण रूपमा आशावादी रहेको बताए। उनले विकास र पर्यावरण एकअर्काका पूरक हुनुपर्ने धारणा राख्दै यस क्षेत्रको आर्थिक सम्भावनालाई बाधा नपुग्ने गरी संरक्षणका योजनाहरू बनाइनुपर्नेमा जोड दिए। उक्त बैठकमा राज्यका पर्यटन मन्त्री डा. शङ्कर घोष, गृह तथा स्वास्थ्य राज्यमन्त्री आनन्दमय बर्मन, विधायिका शिखा चटर्जीका साथै जिल्ला प्रशासनका उच्च अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
पर्यावरण र विकासको साझा सन्तुलन खोज्न आयोजित यस बैठकमा पर्यावरणवादी समूह, विभिन्न गैरसरकारी संस्था (एनजीओ), उद्योग क्षेत्रका प्रतिनिधि, पर्यटन व्यवसायी, चिया उद्योगका सरोकारवाला तथा व्यापार-वाणिज्य सङ्घका प्रतिनिधिहरूले पनि आ-आफ्नो पक्ष र सुझावहरू प्रस्तुत गरेका थिए। सबै सरोकारवाला समूहहरूको सक्रिय सहभागिता रहेको यस बैठकले महानन्दा अभयारण्य वरपरका क्षेत्रहरूको दिगो विकास र व्यवस्थापनका लागि आगामी दिनमा ठोस मार्गदर्शन गर्ने विश्वास लिइएको छ।











