राज्य स्तरीय रामायण पाठ प्रतियोगिताको विजेता ट्रफी मङ्गनका जिल्लापाललाई हस्तान्तरण

FB_IMG_1784049201952

मङ्गन: २१२औँ राष्ट्रिय भानु जयन्ती समारोह २०२६ को अवसरमा आयोजित अन्तर-निर्वाचन क्षेत्र स्तरीय रामायण पाठ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल लाचेन-मङ्गन निर्वाचन क्षेत्रको टोलीले प्राप्त गरेको ट्रफी तथा पुरस्कार आज औपचारिक रूपमा मङ्गनका जिल्लापाल (डीसी) अनन्त जैनलाई हस्तान्तरण गरेको छ। जिल्ला स्तरीय भानु जयन्ती समारोह समितिका अध्यक्ष समेत रहनुभएका जिल्लापाल जैनलाई जिल्ला समितिका सदस्यहरू अतिरिक्त जिल्लापाल (एडीएम) पेमा वाङचेन नामकार्पा, बीडीओ कैलाश थापा र शिक्षा संयोजक प्रमिला देवकोटाले सो पुरस्कार हस्तान्तरण गर्नुभएको हो।
​सोरेङमा ‘भाषा साहित्य विकास एवं जातीय सद्भावना’ भन्ने मूल नाराका साथ आयोजित राज्य स्तरीय अन्तर-निर्वाचन क्षेत्र रामायण पाठ प्रतियोगितामा लाचेन-मङ्गनको टोलीले सर्वोत्कृष्ट स्थान हासिल गरेको थियो। जिल्ला स्तरीय भानु जयन्ती समारोह समितिको मार्गनिर्देशनमा आयोजित छनोट प्रक्रिया पार गर्दै यस टोलीले मङ्गन जिल्लाको प्रतिनिधित्व गरेको थियो।
​निर्वाचन क्षेत्र स्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरी मङ्गन जिल्लाको नाम रोशन गरेको यस टोलीले गत १३ जुलाई २०२६ का दिन सोरेङमा आयोजित राष्ट्रिय भानु जयन्ती समारोहमा आफ्नो विशेष प्रस्तुति दिने गौरव प्राप्त गरेको थियो। लाचेन-मङ्गन निर्वाचन क्षेत्रका तीनवटा फरक-फरक विद्यालयका १० जना विद्यार्थी सम्मिलित यस टोली, संयोजक प्रमिला देवकोटा, बीडीओ कैलाश थापा, जिल्ला स्तरीय प्रतियोगिताका निर्णायक मण्डल र मार्गदर्शक शिक्षकहरूले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट उक्त पुरस्कार ग्रहण गरेका थिए।

यस ऐतिहासिक विजयले मङ्गन जिल्लालाई गौरवान्वित तुल्याउनुका साथै भानु जयन्तीसँग जोडिएको समृद्ध साहित्यिक एवं सांस्कृतिक धरोहरलाई प्रवर्द्धन गर्न विद्यार्थीहरूले देखाएको उत्कृष्ट प्रतिभा र योगदानलाई उजागर गरेको छ।

About Author

Advertisement