सिलगढी: हुलाक सेवालाई थप आधुनिक र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सिलिगुडी हुलाक कार्यालयमा अत्याधुनिक डिजिटल किओस्क मेसिन जडान गरिएको छ।
उत्तर बङ्गालमै पहिलो पटक भित्र्याइएको यो सेवाको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको हो।
यसअघि चिठीपत्र, पार्सल र अन्य सामग्री पठाउन सेवाग्राहीहरू घण्टौंसम्म हुलाकको काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता थियो। अब भने डिजिटल किओस्कको माध्यमबाट सेवाग्राही आफैँले बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन्।
यो मेसिनमा सेवाग्राहीले पठाउनुपर्ने सामग्री राखेपछि यसले स्वतः त्यसको तौल लिनेछ। तौलका आधारमा तय हुने हुलाक शुल्क डिजिटल माध्यमबाट तत्कालै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।
हुलाक सेवाका निर्देशक एम. सुधाकर माल्याले सर्वसाधारणको बहुमूल्य समय बचत गर्न तथा हुलाक सेवालाई सहज, छिटो र पारदर्शी बनाउन डिजिटल किओस्क सुरु गरिएको बताए।
यो डिजिटल किओस्क सेवा हप्ताको सातै दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहनेछ, जसले गर्दा सेवाग्राहीले सो अवधिमा जुनसुकै बेला आफैँ सामग्रीहरू बुकिङ गर्न सक्नेछन्।
नयाँ सेवा सुरु भएसँगै स्थानीयबासी निकै उत्साहित देखिएका छन्। लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको र हुलाक बुकिङ निकै छिटो हुने भन्दै सेवाग्राहीहरूले यसको स्वागत गरेका छन्।










