मेघालय: ​प्रशासनिक सुधार र सुशासन जनकेन्द्रित हुनुपर्ने: मुख्यमन्त्री

FB_IMG_1783965166676

शिलांग: राज्यका मुख्यमन्त्री कोनराड के सङ्माले अर्थपूर्ण प्रशासनिक सुधारको सुरुवात परिवर्तनलाई आत्मसाथ गर्ने इच्छाशक्तिबाट मात्र सम्भव हुने बताउनुभएको छ।
मेघालयको राजधानी शिलांगमा आयोजित “नेक्स्टजेन प्रशासनिक तथा ई-गभर्नान्स सुधार” सम्बन्धी राष्ट्रिय सम्मेलनका अवसरमा उहाँले यस्तो धारणा राख्नुभएको हो। सम्मेलनमा भाग लिन आइपुग्नुभएका भारतीय केन्द्रीय राज्यमन्त्री डा. जितेन्द्र सिंहलाई स्वागत गर्दै मुख्यमन्त्री सङ्माले ठूला स्तरका सुधारहरू आफैंमा महत्त्वपूर्ण भए तापनि हाम्रो दैनिक प्रणाली, प्रक्रिया र मानसिकतामा गरिने साना-साना सुधारहरूले नै समाजमा सबैभन्दा ठूलो र सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो।
​मुख्यमन्त्री सङ्माका अनुसार मेघालय सरकारले शासकीय व्यवस्थालाई चुस्त बनाउन प्रविधिको प्रयोग र जनसहभागितालाई विशेष प्राथमिकता दिँदै आएको छ। राज्यमा सञ्चालित ‘सीएम कनेक्ट’, क्याबिनेट रिट्रिट र नागरिक पृष्ठपोषण (फिडब्याक) संयन्त्र जस्ता नवीन प्रयासहरूले शासन व्यवस्थालाई बढी प्रभावकारी बनाएको उहाँले दाबी गर्नुभयो। जब शासकीय स्वरूप जनकेन्द्रित, प्रविधिमैत्री र विभिन्न सरकारी विभागहरूबीचको आपसी समन्वयमा आधारित हुन्छ, तब मात्र त्यसले वास्तविक नतिजा दिने अनुभव उहाँले साझा गर्नुभयो।
​सुशासनको वास्तविक मापन सरकारले लागू गरेका योजनाहरूको संख्याबाट नभई त्यसले जनताको जीवनस्तरमा ल्याएको सकारात्मक परिवर्तनबाट हुने धारणा मुख्यमन्त्री सङ्माले व्यक्त गर्नुभयो। सार्वजनिक सेवक (कर्मचारी) हरूले सधैं प्रशासनिक प्रक्रियाहरूलाई सरलीकृत गर्न, कार्यसम्पादनमा देखिने व्यवधान र ढिलासुस्तीलाई हटाउन तथा नागरिकका गुनासाहरूलाई ध्यानपूर्वक सुन्न आवश्यक रहेको उहाँको भनाइ थियो। उहाँले जनताको सेवामा समर्पित हुँदा समानुभूति, स्पष्ट उद्देश्य र निरन्तर सुधारप्रतिको प्रतिबद्धतालाई आत्मसाथ गर्दै सबै विभाग मिलेर अघि बढ्नुपर्नेमा विशेष जोड दिनुभएको छ।

About Author

Advertisement