डा. आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ ‘पूर्ण परिचय’ को लोकार्पण

IMG-20260711-WA0084

खरसाङ: खरसाङकी नारी स्रष्टा, साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिकी सदस्या एंव गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ डा आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ पूर्ण परिचय लोकार्पण गरिएको छ।
उक्त अभिनन्दन ग्रन्थको लोकार्पण गोर्खा जनपुस्तकालय खरसाङको डा. पारसमणि प्रधान प्रेक्षाग‌ृहमा सम्पन्न भएको छ। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार जीबी बलले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’ उपस्थित रहेका थिए। गोमा सुब्बाद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत सम्भाषण ज्ञानकुञ्ज बुक्स खरसाङका निर्देशक सञ्जीव छेत्रीले राखेका थिए। यसै कार्यक्रममा डा आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ ‘पूर्ण परिचय’ को लोकार्पण सभाध्यक्ष वरिष्ठ साहित्यकार जीबी बल, प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’, विशिष्ट अतिथिहरु क्रमैले सोनादा डिग्री कलेजका प्राचार्य डा योगेस खाती, पूर्ण गुरुङ ‘निरुपम’, मुक्ति बराल उपाद्यय, शताब्दी पुरुष डीएस दर्नाल, गोर्खा जनपुस्तकालय खरसाङका अध्यक्ष रबीनकुमार प्रधान, विष्णु ठकुरी, पण्डित तुलसी अधिकारी, सुदर्शन अम्बटे, ललिता जोशी, सम्पादिका आशा मुखिया लामा आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरिएको छ। उक्त अभिनन्दन ग्रन्थ लोकार्पण भएको घोषणा प्रमुख अतिथि राजु प्रधान ‘हिमांशु’ ले गरेका थिए। कार्यक्रममा पूर्ण गुरुङ ‘निरुपम’को परिचय गोमा सुब्बाद्वारा राखिएको थियो।

कार्यक्रममा सम्पादिकाको पक्षमा बोल्दै आशा मुखिया लामाले यस अभिनन्दन ग्रन्थ प्रकाशित गर्न अनुमति दिने पूर्ण गुरुङ ‘निरुपम’, प्रकाशक पति पारस लामा, लेखकहरु र उपस्थित सबैलाई धन्यवाद दिएकी छन्। उनले पूर्ण गुरुङ ‘निरुपम’ जस्ता वरिष्ठ साहित्यकार, नाटककार, नाट्यकर्मी, नाट्य निर्देशक र नाट्य कलाकारको अभिनन्दन ग्रन्थ ‘पूर्ण परिचय’ सम्पादन गर्न पाउनु खुशी लागेको बताउँदै यस पुस्तक तयार पार्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। कार्यक्रममा वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी पूर्ण गुरुङ ‘निरुपम’ ले आफ्नो सम्बोधनमा भने, आफ्नो अभिनन्दन ग्रन्थ प्रकाशित भएर सम्मानित भएकोमा सबैभन्दा ठूलो सम्मान पाएको अनुभव भएको छ। योभन्दा ठूलो सम्मान अरु छैन। सम्पादिका आशा बाहिनी र प्रकाशक पारस लामालाई धेरै धन्यवाद छ र म आजीवन ऋणी रहनेछु। यसले गर्दा मैले जीवनमा केही गरेछु भन्ने लागेको छ। यो मैले कहिले पनि नसोचेको कुरा हो।’ पूर्ण गुरुङ ‘निरुपम’ ले अघि भने, यो अभिनन्दन ग्रन्थ प्रकाशित हुनु भनेको पुरस्कार पाउनुभन्दा पनि ठूलो हो। यसको कुनै आयतन हुँदैन। म खुशी छु।’
उनले अझ भने, मेरो नाट्य जीवनमा जागृति परिवारको महत्वपूर्ण भूमिका रहेको छ। २९-३० वर्षमा ठूलो काम गरेछौँ भन्ने लागेको छ।’
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’ ले आफ्नो सम्बोधनमा भने, हामीले रंगमञ्चको साहित्य र रंगमञ्चको‌ इतिहासलाई बचाएर राख्नुपर्छ। संरक्षण गरेर लानुपर्छ। खरसाङमा पहिलो नाटक कुन हो भन्ने विषयमा डा जस योञ्जन प्यासी सरले माध्यम पत्रिकामा लेख्नु भएको छ। उहाँ अनुसार खरसाङमा पहिलो नाटक डा पारसमणि प्रधानद्वारा लिखित नाटक सुन्दर कुमार हो जुन १ जनवरी १९१९ मा मञ्चन गरिएको थियो। खरसाङमा नाटकको १०७ वर्षको इतिहासमा पूर्ण गुरुङ ‘निरुपम’ले‌ मात्र ३० वर्षको योगदान दिएका छन्।’

राजु प्रधान ‘हिमांशु’ ले अघि भने, पूर्ण गुरुङ ‘निरुपम’ ले साहित्यकार र नाटकारहरुलाई हौसला र प्रेरणा दिनु भएको छ। आशा मुखिया लामाद्वारा सम्पादित र पारस लामाद्वारा प्रकाशित पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ ‘पूर्ण परिचय’ ले सर्जकलाई अझैं दायित्व बोध भएको छ भन्ने आशा छ।’ उनले जागृति परिवार र पूर्ण गुरुङ ‘निरुपम’ पर्यावाची शब्द हो भनीे बताएका छन्। कार्यक्रममा सभाध्यक्ष वरिष्ठ साहित्यकार जीबी बलले आफ्नो सम्बोधनमा खरसाङमा सम्भवत: यो चौथो अभिनन्दन ग्रन्थ रहेको बताउँदै आज अभिनन्दन ग्रन्थ प्रकाशित हुने हुने पूर्ण गुरुङ ‘निरुपम’, सम्पादिका आशा मुखिया लामा र प्रकाशक पारस लामा साथै प्रमुख अतिथिको रुपमा उपस्थित राजु प्रधान ‘हिमांशु’ पनि आफ्नो विद्यार्थी रहेको उल्लेख गरेका छन्।‌ कार्यक्रममा धन्यवाद ज्ञापन आशा मुखिया लामाले राखेकी थिइन्।‌ कार्यक्रममा पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थमा रचना दिएर सहयोग गर्ने सबैप्रति अभिनन्दन ग्रन्थ प्रदान गरिएको थियो। कार्यक्रममा दार्जीलिङ, सोनादा, खरसाङ, सिक्किमबाट पनि साहित्यकारहरु उपस्थित रहेका थिए। कार्यक्रममा अभिनन्दन ग्रन्थद्वारा अभिनन्दित वरिष्ठ साहित्यकार एवं नाटककार पूर्ण गुरुङ ‘निरुपम’ र सम्पादिका आशा मुखिया लामालाई सम्मान जनाइएको थियो।

About Author

Advertisement