उत्तर बङ्गालको नयाँ लाइफ लाइन

FB_IMG_1783531347069

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा दुधिया बेली ब्रिजको भव्य उद्घाटन, मिरिक र सिलगढीको दुरी फेरि छोटियो

​कोलकाता/सिलगढी: उत्तर बङ्गालको पर्यटन र जनजीवनका लागि आजको दिन एउटा ठूलो उत्सव साबित भएको छ।
कोलकातास्थित मुख्यमन्त्री कार्यालय ‘नवान्न’ मा आयोजित एक गरिमामयी समारोहका बीच पश्चिम बङ्गालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले दार्जिलिङ जिल्लाको दुधियास्थित बालासन नदीमा नवनिर्मित बेली ब्रिजको भर्चुअल माध्यमबाट औपचारिक लोकार्पण गर्नुभएको छ। केही समयअघि आएको भीषण बाढी र प्राकृतिक विपत्तिका कारण बालासन नदीको पुरानो मार्ग क्षतिग्रस्त हुँदा दार्जिलिङ, मिरिक, सिलिगुढी र आसपासका क्षेत्रहरूबीचको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

यस भौगोलिक संकटका कारण हजारौँ स्थानीय बासिन्दा, दैनिक कामदार र यस क्षेत्रको आर्थिक मेरुदण्ड मानिने पर्यटकहरूले महिनौँदेखि ठूलो सास्ती भोग्दै आएका थिए। जनसाधारणको यही सास्तीलाई मध्यनजर गर्दै मुख्यमन्त्री अधिकारीको प्रत्यक्ष निगरानी र कडा निर्देशनमा यो पुल युद्धस्तरमा काम गरेर अत्यन्तै छोटो अवधिमा निर्माण सम्पन्न गरिएको हो, जसले उत्तर बङ्गालको पहाड र समथर भूभागलाई फेरि एकपटक बलियो गरी जोडेको छ।
​यस ऐतिहासिक लोकार्पण कार्यक्रममा बङ्गाल सरकारका मन्त्री विशाल लामाको विशेष उपस्थिति रहेको थाहा भएको छ। मन्त्री लामाले यस परियोजनालाई मुख्यमन्त्रीको दूरदर्शी नेतृत्व र वर्तमान सरकारको तीव्र कार्यशैलीको सबैभन्दा ठूलो सफलताका रूपमा ब्याख्या गर्नुभएको छ। उहाँका अनुसार यति छोटो समयमा यति ठूलो र बलियो पुल तयार हुनुले सरकार गफमा भन्दा पनि काम र सुशासनमा विश्वास गर्छ भन्ने कुरा प्रमाणित गरेको छ। यो पुल केवल फलाम र सिमेन्टको संरचना मात्र नभएर उत्तर बङ्गालका हजारौँ जनताको सहज जीवन र समृद्धिको नयाँ ढोका पनि हो। पुल निर्माणको यस चुनौतीपूर्ण कार्यलाई सफल बनाउन भारतीय सेनाको पूर्वी कमान्डका कुशल इन्जिनियर र सैनिक अधिकारीहरूले अहोरात्र खटेर प्राविधिक नेतृत्व सम्हालेका थिए। सेनाको यो अद्भुत क्षमता र लगनशीलताका कारण नै आज यस क्षेत्रका जनताले नयाँ पुल उपहार पाएका हुन्।

​नवान्नमा आयोजित उक्त विशेष समारोहमा दार्जिलिङका सांसद राजु विष्ट, दार्जिलिङका विधायक नोमान राई, कालिम्पोंगका विधायक भरत छेत्री र कर्सियाङका विधायक सोनम लामा लगायत उत्तर बङ्गालका शीर्ष जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। मुख्यमन्त्री सुवेन्दु अधिकारीले पुल निर्माण कार्यमा अमूल्य योगदान पुर्‍याउने भारतीय सेना, दार्जिलिङ जिला प्रशासन, लोक निर्माण विभाग र स्थानीय दुधिया क्षेत्रका नागरिकहरूको सक्रिय सहभागिताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ। यो परियोजना उत्कृष्ट नागरिक–सैन्य समन्वय र प्रशासनिक दक्षताको एउटा यस्तो प्रेरणादायी उदाहरण बनेको छ, जसले आगामी दिनमा उत्तर बङ्गालको चौतर्फी विकास, मजबुत पूर्वाधार र जनकल्याणको सङ्कल्पलाई अझ तीव्र गतिमा अघि बढाउने विश्वास गरिएको छ।

About Author

Advertisement